प्रचण्डको आत्मालोचना, तीन वर्षमा न त केपी ओलीलाई तह लगाउन सक्यौं न त जनतासँग गरेको वाचा पूरा गर्न सक्यौं


काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई देखाएको सपना र जनतासँग गरेको वाचा तीन वर्षको अवधिमा पूरा गर्न नसकेको स्वीकार गरेका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बाम गठबन्धन बनाएर चुनावी अभियानमा होमिँदा गरेको वाचा पूरा गर्न नसकेको बताएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न जस्तोसुकै सम्झौता गर्न तयार हुने तर कार्यान्वयन नगर्ने परिपार्टीले कुनै काम गर्न नसकेको बताए । उनले आफूले ओलीलाई सुधार्न नसकेको भन्दै आत्मालोचना गरे । उनले ओली प्रवृत्ति स्वीकार गर्ने भुल आगामी दिनमा नगर्ने प्रतिबद्धता जनाए ।

आफूहरुको उदारतालाई कमजोरी ठानेर ओली अगाडि बढेकाले आफू जनतामा आउनुपरेको उनले बताए । उनले भने, ‘हामीले जनतासँग गरेको वाचा पूरा गर्न सकेनौँ । त्यसका लागि यो विशाल सभाबाट आत्मालोचना गर्छु । सबै दोष केपी ओलीलाई दिएर पन्छिन पनि चाहान्न । अब हामी यस्तो हुन दिने छैनौँ ।’

प्रतिक्रिया