विदेशी मुद्रासहित विमानस्थलबाट थाइल्याण्ड नागरिक पक्राउ


काठमाडौं – अमेरिकी तथा अष्ट्रेलियन डलरसहित थाइल्याण्डका नागरिक पक्राउ परेका छन्। फ्लाई दुबईमार्फत काठमाडौंबाट दुबई जान लागेका ३८ वर्षीय पोङफोज सिनसुवान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पक्राउ परेका हुन्।

उनको साथमा ५८ हजार चार सय अष्ट्रेलियन डलर र १५ हजार सात सय अमेरिकन डलर फेला परेको प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसीले जानकारी दिए।

उनले ल्याएको कालो सेतो छिरविरे रंगको एलभी लेखिएको व्यागलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाको पुरुष तर्फको एक्सरे मेसिनमा स्क्रिनिङ गर्ने क्रममा व्याग भित्र विदेशी मुद्रा फेला परेको हो।

अवैध रूपमा लुकाईछिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएकाले आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि आज राजश्व अनुसन्धान विभागमा पठाइएको उनले बताए।

प्रतिक्रिया