


बेलायतको फिल्म फेस्टिभलमा नेपाली लघुचलचित्र ‘भाउ’ छनोट

काठमाडाैं – नेपाली लघुचलचित्र ‘भाउ’ (कस्ट अफ लिभिङ) बेलायतको फिल्म फेस्टिभलका लागि छनोट भएको छ। ‘फस्ट टाइम फिल्म मेकर सेसन्स एट पाइनउड स्टुडियोज’का लागि ‘भाउ’ (कस्ट अफ लिभिङ) नेपालबाट छनोट भएको हो ।
‘भाउ’मा लामो समयदेखि फिल्म र टेलिफिल्ममा अभिनय गरेका सुवासप्रसाद गजुरेल मुख्य भूमिकामा छन्। उनलाई सुजिता शाह, रेनुका कार्की र सुमन थापाले अभियनमा साथ दिएका छन्।
काठमाडौं र भक्तपुरका विभिन्न स्थानमा छाँयाकन गरिएको ‘भाउ’को लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । नारायण जिसीले खिचेको फिल्ममा करण साउद सहायक निर्देशक छन्।
कवाडीवालाको कथा रहेको लघुचलचित्र भाउमा मानिसको जीवनको मूल्य र मानिसले जीवकोपार्जनका लागि गर्ने संघर्ष देखाउन खोजिएको छ।
फेस्टिभल लिफ्ट अफ ग्लोबल नेटवर्कले हरेक वर्ष आयोजना गर्ने गर्छ । चलचित्रमा करियर बनाउन चाहनेहरूका लागि लिफ्ट अफ ग्लोबल नेटवर्कले सन् २०१० देखि यो अवार्ड आयोजना गर्दै आइरहेको छ।

