
समानुपातिकमा ठूला नेताकै रजाइँ : आरजुदेखि महरा हुँदै बादलकी पत्नीसम्म समानुपातिकमा
काठमाडौं- निर्वाचन आयोगले तोकेको समयसीमाभित्र सबै राजनीतिक दलहरुले राति अबेरसम्म समानुपातिक निर्वाचनका लागि उमेदवारको बन्द सूची बुझाएका छन्।
निर्वाचन आयोगले दिएको जानकारीअनुसार राति अबेरसम्म पनि दलहरुले सूची बुझाउँदै थिए । आयोगले त्यसलाई दर्ता गर्ने काम गरेको छ।
दलहरुले अहिलेसम्म औपचारिक सूची सार्वजनिक गरेका छैनन्। समानुपातिक निर्वाचन निर्देशिकामा भएको व्यवस्थाअनुसार दलहरुले सूची तयार पार्नुपर्ने हुन्छ।
दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारु र मुस्लिमको जनसंख्याको आधारमा उमेदवारको नाम सिफारिस गर्नुपर्छ।
त्यसका लागि प्रतिनिधिसभामा १ सय १० र प्रदेश सभाका लागि बढीमा २ सय २० जनाको सूची बुझाउनुपर्ने हुन्छ। ३ सय ३० जनाको सूची तयार पार्दा ढिलाइ भएको दलहरुले बताएका छन्।
नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्रले पहुँचवालालाई नै समानुपातिक सूचीमा राखेका छन्। एमालेले उपाध्यक्ष रामबहादुर थापाकी पत्नी नैनकला थापादेखि रघुजी पन्त, गोरखबहादुर बोगटीलगायतका व्यक्तिहरुलाई सूचीमा राखेको छ।
कांग्रेसले सबैभन्दा बढी पहुँचवालालाई नै समानुपातिक व्यवस्थामा स्थान दिएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा, विमलेन्द्र निधि, प्रकाशशरण महत, फरमुल्लाह मन्सुर, गोपालमान श्रेष्ठलगायत पटक पटक पदमा र नेतृत्वमा पुगेकालाई नै स्थान दिएको छ।
त्यसैगरी माओवादी केन्द्रले पनि पटक पटक लाभ लिएका नेता कृष्णबहादुर महरालाई नै समानुपातिकको सूचीमा राखेको छ। उनी सभामुख भएका बेला यौन हिंसामा पक्राउ परेका व्यक्ति हुन् । ठूला दलले नै संविधान विपरीत समानुपातिक सिफारिस गरिरेहका छन्।



कागजपत्र |
