

सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै

बैतडी – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्वको रौनकता छाएको छ। यो पर्व असोज १ गते धुमधामसँग मनाइने गरिएको छ।
विजय उत्सवको रूपमा मनाइने यो पर्वमा बूढी अर्थात् राक्षसी पुतनालाई पोल्ने गरिएको संस्कृतिका जानकार जयानन्द भट्टले बताए। परम्परागत किंवदन्तीअनुसार भगवान् श्री कृष्णले राक्षसी प्रवृत्तिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)ले पुतनाको शव दहन गरेको कथन छ।
द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्रीकृष्णले दूध चुसी मारेको र भगवान् श्रीकृष्णले बाँचेको खुशियालीमा असोज संक्रान्तिमा यो पर्व मनाइने गरिएको भट्टको भनाइ छ।
सुदूरपश्चिममा भाद्र संक्रान्तिका दिन गाडिएको सल्लाको वा अन्य बोट विरुवाको लिङ्गोमा आज साँझपख बूढी पोलिने र सोही ठाउँमा काँक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ। ओल्के संक्रान्तिका दिन गोठालाले बूढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रूखका हाँगा थप्ने गर्छन्। दैनिक थप्दा केही स्थानमा निकै ठूलो बूढी बन्ने गर्छन्।
गाईगोठालाले बाँझा जग्गा र दोबाटामा सल्ला, बाँज, खर्सुलगायत रूखबाट निर्मित बूढीको पुतनालाई साँझपख जलाउने गरिन्छ। दोबाटोमा जलाएकी पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन पनि रहेको छ। यसो गरेमा पशुचौपायामा कुनै रोग नलाग्ने धार्मिक जनविश्वास रहेको छ।
ओल्के संक्रान्तिका दिन गाउँनजिकका अलिक उच्चो टाकुरामा सबै जना मिलेर रूखका हाँगाबिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ। यो थुप्रोलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भन्ने गरिएको छ।
यो बूढीलाई नै आज असोज संक्रान्तिका साँझ घरघरबाट आगोको राँको एकैपटक निकाली एकैसाथ पोलेर ‘बूढी पोल्ने’ पर्व मनाउने परम्परा रहेको छ। पुतनाको स्वरूपमा तयार गरी सिँगारिएको बाबियोलाई आज बिहान गोठबाट निकालेर दिनभर घाममा सुकाई साँझ दोबाटोमा लगेर जलाउने गरिन्छ। साँझपख काँक्रो चपाएर जलेको पुतनामा फाल्दै जोडले थुई बूढी थुई भन्ने गर्छन्।
त्यस्तै बूढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियो पनि गाड्दै जाने प्रचलन छ।

