

जबराकाे बयानमाथि आज ६५ पृष्ठमा हस्ताक्षर, बाँकीमा भाेलि

काठमाडाैं – प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई उनको बयानमाथि हस्ताक्षर गराउन थालेको छ । आज शुक्रवार ६५ पृष्ठमा हस्ताक्षर गराएको र बाँकीमा भोलि शनिवार हस्ताक्षर गराउने समितिले जनाएको छ ।
समितिले जबरासँग लिएको बयान कागजमा उतार्दा एक सय ७४ पृष्ठ भएको छ । यसैबीच निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबारे प्रतिवेदन बुझाउने कि नबुझाउने भन्नेमा महाअभियोग सिफारिस समितिमा सदस्यहरू विभाजित भएका छन् ।
सत्तारूढ नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले भोलि संसद्को बैठक सकिनुअघि नै प्रतिवेदन तयार पारेर सभामुखलाई बुझाउनुपर्ने बताएका छन् भने प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदहरूले अध्ययन नै पूरा नभएको बताएका छन् ।
जबराविरुद्ध गएको फागुन १ गते महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी निलम्बनमा हुन् । लामो समय छानबिन नभएपछि संसदमा र बाहिर पनि प्रश्न उठेका थियो । गएको साउन २५ मा भने थप छलफल भएर महाअभियोग सिफारिस समितिमा पठाइएको थियो ।
समितिले एक महिनाभित्रै प्रतिवेदन बुझाउने तयारी गरे पनि काम गर्दै जाँदा सम्भव नभएको समितिका सदस्य तथा कांग्रेस प्रमुख सचेतक मीन विश्वकर्माले जानकारी दिए ।

