बेलायतकी महारानीको स्वास्थ्य स्थिति गम्भीर


लण्डन – स्कटल्याण्डस्थित बालमोरल दरबारमा विदामा रहेकी बेलायतकी महारानी एलिजावेथ द्वितियाको स्वास्थ्य बिग्रिँदै गएको बकिङहम दरबारले विज्ञप्ति मार्फत जानकारी दिएको छ । ९६ वर्षीया महारानीका निकट परिवार सदस्य धमाधम बालमोरल गएको वा बाटोमा हुनुले पनि उनको स्थिति गम्भिर रहेको आशंका बढाएको छ ।

महारानी अहिले चिकित्सकको निरन्तर निगरानीमा रहेको बकिङहम दरबार स्रोतले वक्तव्यमार्फत जानकारी दिएको छ । वक्तव्यमा विहानको परीक्षणपछि चिकित्सकहरुले महारानीको स्वास्थ्य स्थिति चिन्ताजनक रहेको बताएको उल्लेख छ ।

महामारी सामान्यता गृष्ममा बालमोरल दरबारमै बिताउने गर्थिन् । सोही परम्पराअनुरुप उनी अहिले स्कटल्यान्डमा पर्ने बालमोरल दरबारमा छिन् । मंगलबार उनले सोही दरबारबाटै नयाँ प्रधानमन्त्रीका रुपमा लिज ट्रसलाई भेटेकी थिइन् ।

प्रधानमन्त्री लिज ट्रसले ‘महामारीको स्वास्थ्यप्रति सम्पूर्ण देश गहिरो चासो दिइरहेको’ प्रतिक्रिया दिएकी छन् । महारानी एलिजाबेथ द्वितीयाका चार छोराछोरी, आठ नाति नातिना र १२ जना पनाती पनातीना छन् । उनका छोराछोरी र नाति नातिनाको विवरण तल दिइएको छ :

१. राजकुमार चाल्स, प्रिन्स अफ वेल्स : महारानीको जेठो सन्तान र सिंहासनका उत्तराधिकारी हुन् राजकुमार चाल्स । उनी क्यामिला, डचेस अफ कर्नवालसँग विवाहित छन् । उनको पहिलो श्रीमती राजकुमारी डायनाबाट विलियम र ह्यारी गरी दुई छोरा छन् ।

२.राजकुमारी एनी, प्रिन्सेस रोयल : रानीको दोस्रो सन्तान र एकमात्र छोरी हुन् एनी । उनी टिमोथी लरेन्ससँग विवाहित रहेकी छन् । उनको पहिलो पति क्याप्टेन मार्क फिलिप्सबाट पिटर फिलिप्स र जारा टिन्डल नामका दुई सन्तान छन् ।

३.प्रिन्स एन्ड्र्यू, ड्युक अफ योर्क : महारानीको तेस्रो सन्तान हुन् एन्ड्रयु । उनका पूर्व पत्नीबाट योर्कको डचेस– राजकुमारी ब्रिटिस र राजकुमारी युजेनी गरी दुई छोरीहरू छन् । उनको न्युजनाईटको विवादास्पद अन्तरवार्तापछि उनले शाही पद परित्याग गरे ।

४.प्रिन्स एडवर्ड, अर्ल अफ वेसेक्स : प्रिन्स एडवर्ड महारानीका कान्छो छोरा हुन् । उनी काउन्टेस अफ वेसेक्स सोफीसँग विवाहित छन् । र उनका लुइस र जेम्स माउन्टबेटन–विन्डसर गरी दुई सन्तान छन् । माथि उल्लेखित सन्तानहरुमध्ये प्रिन्स चाल्स र उनकी श्रीमती क्यामिला महारानीले आराम गरिरहेको बालमोरल दरबार पुगिसकेका छन् भने आउन बाँकी सन्तानहरु बाटोमा रहेको बीबीसीले लेखेको छ ।

महारानीका एक मात्र छोरी राजकुमारी एनी बालमोरल पुगिसकेको दरबारले बताएको छ । त्यस्तै कान्छो छोरा एड्वार्ड उनकी श्रीमतीसहित र एन्ड्रयु बाटोमा रहेको बताइएको छ । त्यसबाहेक राजकुमार चाल्सका जेठो छोरा विलियम पनि बाटोमा रहेका र उनकी श्रीमती क्याथरिन महारानीसँगै पुगिसकेकी छन् ।

ह्यारी र मेघन स्कटल्याण्ड जाँदै

ड्युक एण्ड डचेस अफ ससेक्स पदावी पाएका क्रमशः ह्यारी र मेघन पनि विरामी हजुरआमालाई भेट्न स्कटल्याण्ड फर्किदै गरेको तिनका प्रवक्ताले बताए । केही वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका यी दम्पति पछिल्ला दिनमा बेलायतमा विभिन्न कामले व्यस्त छन् । अहिले भने उनीहरु जर्मनमा थिए, र त्यहीबाट हजुरआमा भेट्न जाँदैछन् । ह्यारी र मेघन दरबारसँग खटपटपछि अमेरिका बस्दै आएका छन् ।

प्रतिक्रिया