
सत्ता गठबन्धनबीच सिट बाँडफाँट : कांग्रेसलाई ८६ बाँकी अरू दललाई
काठमाडौँ- आगामी निर्वाचनमा सत्ता गठबन्धनमा कसले कति सिट पाउने भन्ने विषयमा भएको सहमति सिट बाँडफाँट कार्यादलले आज सार्वजनिक गर्ने भएको छ। मंगलबार साँझ बालुवाटारमा बसेको गठबन्धनको सिट बाँडफाँट कार्यदल बैठकले गरेको सहमति आज सार्वजनिक गर्ने तयारी छ।
स्रोतका अनुसार प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ८६ सिटमा चित्त बुझाएको छ। अरू बाँकी सिटबारे दलहरूबीच छलफल हुनेछ।
कांग्रेसले १०० सिटमा दाबी गर्दै आएको थियो। कांग्रेसको संस्थापन इतरपक्ष ९० सिटभन्दा तल नझर्ने अडानमा थियो। तर, केहीदिन अघि पार्टी सभापति शेरबहादुर देउवाले ८६ सिटमा चित्त बुझाउन कार्यदलका सदस्यहरूलाई निर्देशन दिएका थिए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने कांग्रेससँग ५० प्रतिशत राखेर बाँकीको जिम्मेवारी आफूलाई दिन आग्रह गरेका थिए।
सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आफूहरूबीच सहमति भइसकेको बताएका छन्। लिपिबद्ध गर्न मात्र बाँकी रहेको उनको भनाइ छ। बुधबार बस्ने कार्यदलको बैठकले प्रतिवेदन नै तयार पार्ने उनको दाबी छ।
आफूहरूबीच सहमति भइसकेको भए पनि सिट संख्याको विवरण अहिले नै सार्वजनिक गर्न हतार हुने उनले बताएका छन्।
‘बुधबारको बैठकमा प्रतिवेदन तयार गर्छौं। अब लिपिबद्ध गर्ने चरणमा पुगेका छौँ। सिट संख्याबारे भन्न अहिले अलि हतार हुन्छ । अब लिपिबद्ध गरेर शीर्ष नेतृत्वलाई बुझाउँछौँ,’ उनले भने। कार्यदलको बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ ।



कागजपत्र |
