

तनहुँ-२ मा चुनाव लड्न प्रदीप पौडेलले दिए निवेदन

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले तनहुँ क्षेत्र नम्बर २ बाट चुनाव लड्ने गरी पार्टीमा आवेदन दिएका छन्।
क्षेत्रीय कार्यसमितिले चुनाव लड्न इच्छुकबाट आवेदन माग गरेकोमा पौडेलले मंगलबार तनहुँ २ स्थित प्रतिनिधि सभा क्षेत्रबाट चुनाव लड्न आवेदन दिएका हुन्।
पौडेल कांग्रेस केन्द्रीय सदस्य छन्। पौडेलले आफू तनहुँ २ का जनताका सुख, दु:खमा भिजेकोले यहीबाट उम्मेदवार हुने बताइरहेका थिए।
यस्तै तनहुँ २ मै केन्द्रीय सदस्य ध्रुव वाग्ले र जिल्ला सभापति जितप्रकाश आलेले पनि उम्मेदवार हुन आवेदन दिएका छन्। २०७४ को चुनावमा यहाँबाट कांग्रेसका शंकर भण्डारी उम्मेदवार थिए। उनी पराजित भएका थिए। भण्डारीले यसपालि तनहुँ १ मा उठ्नका लागि आवेदन दिएका छन्।
वाग्ले सभापति शेरबहादुर देउवानिकट हुन्। पौडेल भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट मानिन्छन्। उनी कांग्रेसको गत मंसिरमा भएको १४ औं महाधिवेशनमा सभापति देउवाकै टिमबाट लडेर पराजित भएका थिए।
वाग्ले र पौडेल भने २०७४ को चुनावमा प्रदेश सभा क्षेत्रतर्फ उठेर पराजित भएका थिए। क्षेत्रीय कार्यसमितिले आवेदन संकलन गरी जिल्लामा पठाउने र जिल्ला कार्यसमितिले प्रदेश कार्यसमितिमा उम्मेदवारका नाम पठाउने गर्छ।
कांग्रेस क्षेत्रीय कार्यसमितिहरूले प्रतिनिधि सभा क्षेत्रमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभा क्षेत्रमा पनि प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार हुन चाहनेको आवेदन लिएको छ।
कांग्रेसले प्रदेश कार्यसमितिलाई भदौ २० भित्र रायसहित उम्मेदवारका नाम केन्द्रमा पठाउन निर्देशन दिएको थियो। कांग्रेसले सत्ता गठबन्धनसँग मिलेर चुनावमा जाने निर्णय गरेकोले गठबन्धनभित्र अरू दलले उम्मेदवारी दिएका ठाउँमा कांग्रेसबाट उम्मेदवार नहुने पनि प्रष्ट पारिसकेको छ।

