
अब हेटौंडामा पनि…
मकवानपुर – संघीय राजधानीस्थित काठमाडौं महानगरपालिकाले अवैध संरचनाहरु हटाउने अभियान सुरु गरेसँगै हेटौंडा उपमहानगरले पनि काठमाडौंलाई पछ्याउने तयारी गरेको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासविना बनाइएका भौतिक संरचना हटाउने तयारी थालिएको मेयर मीनाकुमारी लामाले जनाइन् ।
उपमहानगर क्षेत्रभित्र निर्मित अवैध संरचना हटाउनेसम्बन्धी सूचना निकाल्न आफूले निर्देशन दिइसकेको मेयर लामाले जानकारी दिइन् । सम्भवतः सोमबार ३५ दिने सूचना प्रकाशित हुने उनको भनाइ छ ।
‘हामीले पहिलेबाट नै भौतिक संरचना बनाउँदा नक्सा पास र अभिलेखीकरणमा चुस्त गरेका छौं । तर पनि केही स्थानमा सडक ओगटेर पर्खाल, टहरा बनाएको गुनासो आउन थालेको छ, अनुगमनको क्रममा त्यस्तो संरचना पाइए उपमहानगरले कारबाही गर्छ’ मेयर लामाले भनिन् ।
उपमहानगरका अनुसार पार्किङका लागि नक्सा पास गरी बनाइएका संरचनामा घरधनीले पसल व्यवसाय सञ्चालन गरेको पाइएमा, सार्वजनिक सडक, जग्गालाई अतिक्रमण गरेर संरचना बनाइएको पाइएमा, फुटपाथ अतिक्रमण गरेको पाइएमा कानुनी कारवाही हुनेछ ।



कागजपत्र |
