

जबराविरुद्धको महाअभियोग सिफारिस समितिको दोस्रो बैठक आज बस्दै

काठमाडौं – महाअभियोग सिफारिस समितिको दोस्रो बैठक आज बस्ने भएको छ । यो समितिको पहिलो बैठक भदौ १ गते बसेको थियो ।
समितिका जेष्ठ सदस्य रामबहादुर विष्टका अनुसार आज दिउँसो २ बजे बस्ने बैठकमा यसअघि वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको अध्ययन कार्यतालिका पेस गर्ने कार्यसूची छ ।
साथसाथै, समितिको सभापति चयनको विषय पनि उठ्न सक्ने उनले बताए । प्रतिनिधिसभामा दर्ता भएको जबराविरुद्धको महाअभियोग उपर अध्ययन गर्ने जिम्मेवारी महाअभियोग सिफारिस समितिले २२ साउनमा पाएको थियो ।
१ फागुन २०७८ मा ९८ जना प्रतिनिधिसभा सदस्यहरुले जबराविरुद्ध महाभियोग दर्ता गराएका थिए । जबराविरुद्धको महाभियोग प्रस्ताव २९ फागुन २०७८ मा प्रतिनिधिसभा बैठकमा पेस भएको थियो । प्रतिनिधिसभाले २२ साउन २०७९ मा जबराविरुद्धको महाअभियोग प्रस्ताव, महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।
प्रतिनिधिसभा नियमावलीमा महाअभियोग दर्ता भएपछि दुई साताभित्रै छानविनका लागि महाअभियोग सिफारिस समितिमा पुग्ने र समितिले जिम्मेवारी पाएको ३ महिनाभित्र अध्ययन सकाएर सिफारिस गर्नुपर्ने उल्लेख छ ।

