इन्धनको मूल्य यथावत नै राख्ने आयल निगमकाे निर्णय
काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने निर्णय गरेको छ ।
भारतबाट आज (मंगलबार) मात्रै घटेर मूल्य प्राप्त भए पनि निगमले अझै ऋणको दायित्व धेरै भएका कारण हाललाई मूल्य यथावत नै राख्ने निर्णय गरेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
‘हामीलाई अझै ऋण र भुक्तानीको बक्यौता धेरै छ, त्यसैले अहिलेलाई मूल्य समायोजन गर्न सकिएन,’ निगमका कार्यकारी निर्देशक उमेशकुमार थानीले भने, ‘अब निगम आर्थिक रुपमा सबल हुँदै आएपछि यसबारे केही न केही सम्बोधन हुन्छ ।’
भारतले आज पठाएको नयाँ मुल्य सहित तीन पटक मुल्य घटेर आएको छ । भारतले तेस्रो पटक मुल्य घटाउदा पनि नेपालमा मुल्य समायोजन नहुने भएको छ । आजको मुल्य अनुसार पेट्रोलको प्रतिलिटर मूल्य १ रुपैयाँ ८० पैसा र डिजेलको मूल्य ४ रुपैयाँ ८० पैसाले घटेको नेपाल आयल निगमले जनाएको छ । यस्तै हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँले सस्तिएर आएको छ ।