तीनघरेमा पहिरो खसेपछि ३ दिनदेखि सडक अवरुद्ध


काभ्रे – अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-३ स्थित तीनघरेमा पहिरो खसेपछि ३ दिनदेखि सडक अवरुद्ध भएको छ। बनेपा-तीनघरे-अनेकोट सडकखण्डमा माथिबाट पहिरो खसेपछि आवतजावत अवरुद्ध भएको हो ।

पहिरो गएको स्थानको बुधवार जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पहिरोले पुर्‍याएको अवलोकन गरेका छन् । पहिरोका कारण २ घर समेत जोखिममा परेका बनेपा नगरपालिकाले जनाएको छ ।

बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहालले पहिरोमा परेर एउटा मोटरसाइकल समेत पुरेको र अहिले मान्छे समेत आवतजावत गर्न कठिन भएको बताए । ‘पहिरो ठूलै गएका कारण अझै पनि माथिबाट अलिअलि ढुंगा र माटो खस्नेक्रम रोकिएको छैन,’ उनले भने, ‘जोखिमको अवस्था भएका कारण तत्काल सडक खुलाउनसक्ने अवस्था छैन ।’

पहिरोका कारण जोखिममा रहेका घरलाई तत्कालका लागि सुरक्षा दिन नगरपालिका विपद् व्यवस्थापन कोषबाट त्रिपालको व्यवस्थापन गरिएको उनले बताए । पहिरो गएर सडक नै अवरुद्ध भएपछि अहिले बनेपा–तीनघरे–अनेकोट चल्ने सवारीसाधन समेत ठप्प भएको छ ।

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले मनसुन सक्रिय रहेको अवस्थामा तत्कालका लागि पहिरो पन्छाउन सकिने अवस्था नरहेकाले पानी रोकिएपछि मात्रै पहिरो हटाएर यातायात सञ्चालन गर्ने बताए ।

जिल्लामा विपद्का घटना छिटफुट रूपमा देखापरेको बताउँदै जिल्ला प्रशासन कार्यालयले मनसुन प्रतिकार्य योजना तयार गरेर काम गरिरहेको उनको भनाइ छ । विपद्मा परेर हालसम्म २ जना बालक बेपत्ता रहेका र १ जनाको बाढीले बगाएर मृत्यु भएको उनले बताए ।

प्रतिक्रिया