

आगामी निर्वाचनमा हामी दोस्रो हुने हो : प्रचण्ड

काठमाडौं – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा आफ्नो पार्टी दोस्रो बन्ने दावी गरेक छन् ।
पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले देशको बागडोर आफ्नो हातमा लिने गरी अगाडि बढेको समेत दावी गरे ।
पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने देखिएको बताए । कम्युनिस्ट शक्तिहरूमा माओवादी केन्द्र पहिलो बनाउने गरी आफूहरू लागेको उनले बताए ।
प्रचण्डले भने, ‘कम्तीमा पनि लेफ्ट मोमेन्टको पहिलो हुने हो, मैले कांग्रेसका नेताहरूलाई पनि भनेको छु । अहिले सायद पहिलो तपाईँहरू नै हुनुहुन्छ । त्यो देखिन्छ पनि । दोस्रो चाहिँ माओवादी केन्द्र हुनुपर्छ । त्यसमा सहयोग गर्ने हो, भने सबै सहज जान्छ, होइन भने जाँदैन ।’
व्यक्तिगत रूपमा आफ्नो यो निर्वाचन ‘लास्ट इनिङ’ रहेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘मेरो भन्ने हो भने लास्ट इनिङ होस र लास्ट इनिङपछि सम्मको सन्ततिलाई सम्झने गरी होस भन्ने गरी देशलाई केही दिने गरी मेरो सपना छ ।’
त्यस्तै, अध्यक्ष प्रचण्डले स्थानीय चुनावमा नै माओवादी केन्द्र दोस्रो पार्टी हुने अवस्थामा आफ्नै पार्टीभित्रका घात अन्तर्घातले असर गरेको बताए ।

