
निर्मला पन्त घटनाको चार वर्ष पूरा : दोषी अझै पत्ता लागेन
काठमाडौँ- कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार वर्ष पुगेको छ। हालसम्म हत्यारा पत्ता लागेको छैन। हत्यारा पत्ता लगाउन सरकारले विभिन्न शुत्र प्रयोग गर्यो। प्रतिवेदनका चाङ लागे। तर पनि निर्मलाका परिवारले न्याय पाएनन्।
चार वर्षमा १०७ जनाको डीएनए परीक्षण गरेको रिपोर्ट प्रहरीको हातमा छ भने तीन वटा परीक्षणको क्रममा छन्। परीक्षणको क्रममा रहेकोसहित प्रहरीसँग ११० वटा डीएनए रिपोर्ट मात्रै छन्। यो अवधिमा प्रहरीले विभिन्न शंकास्पद व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिसकेको छ।
अनुसन्धान जारी रहेको निर्मला हत्या प्रकरणमा अहिलेसम्म त्यस्तो कुनै तथ्य फेला नपरेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) सामसुन चौधारीले बताए।
प्रहरीले अनुसन्धान जारी राखेको छ भन्दै गर्दा परिवारले न्याय पाउने आशा मारेको छैन। साउन ४ गतेदेखि काठमाडौंको वसन्तपुरमा भीमदत्त नगरपालिका-१२ कञ्चनपुरका सामाजिक अभियन्ता ईश्वर दत्त जोशीले तेस्रो चरणको सत्याग्रह सुरु गरेका छन्।
उनले भीमदत्त नगरपालिका-२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको चार वर्ष बितिसक्दा पनि घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेका भन्दै आन्दोलन गर्नु परेको बताए।
२०७५ साउन १० गते साथीको घर जाने भनेर घरबाट हिँडेकी पन्तको शव साउन ११ गते फालिएको अवस्थामा भीमदत्त नगरपालिका-१८ निम्बुखेडा सडक नजिकै रहेको उँखुबारीमा भेटिएको थियो।



कागजपत्र |
