शेयर बजारमा उछाल, ६१ अंकले नेप्से बढ्दा पौने ३ अर्बको कारोबार


काठमाडौं – मौद्रिक नीति सार्वजनिक भएसँगै शेयर बजारमा पुनः उत्साह देखिएको छ। आइतबार शेयर बजार मापक नेप्से सूचक ३ प्रतिशत बढेको छ भने कारोबार रकम पनि बढेको छ।

आइतबार नेप्से सूचक ६१.०५ अंकले बढेर २०७८.५१ विन्दुमा पुगेको छ भने २ अर्ब ७३ करोड ९ लाख ३७ हजार १९६ रुपैयाँको ६४ लाख २३ हजार १५६ कित्ता शेयर कारोबार भएको छ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा यसअघि लगाइएको शेयर धितो कर्जाको ४÷१२ को सिमामा संशोधन गर्दै ४ करोडको सिमालाई खारेज गरेको छ। अब लगानीकर्ताले एउटा बैंकबाट १२ करोड रुपैयाँसम्म शेयर धितो कर्जा लिन पाउने भएका छन्।

अर्कोतर्फ साना लगानीकर्तालाई प्रोत्साहन गर्नको लागि २५ लाख रुपैयाँसम्मको शेयर धितो कर्जामा १०० प्रतिशत नै जोखिम भार कायम गरेको छ। २५ लाखभन्दा माथिको कर्जामा भने जोखिम भार १५० प्रतिशत कायम गरिएको छ।

यस्तै मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाको दोस्रो बजारमा कारोबार समेत राष्ट्र बैंकले नरोक्ने भएको छ। अब कारोबार रोक्ने नरोक्ने जिम्मा धितोपत्र बोर्डलाई नै दिइने छ। यसअघि नै धितोपत्र बोर्डले मर्जरमा जाँदा कारोबार रोक्ने व्यवस्था हटाउन प्रयास गरिरहेको छ। यसले गर्दा मर्जरमा गएका कम्पनीहरुको समेत दोस्रो बजारमा कारोबार खुल्ला नै रहने भएको छ।

यही तीन व्यवस्थाका कारण आइतबारको बजारमा सकारात्मक प्रभाव देखिएको छ। लगानीकर्ताले लामो समयदेखि उठाउदै आएका मागलाई केन्द्रिय बैंकले केहि सम्बोधन गरेपछि त्यसको सकारात्मक असर बजारमा देखिएको हो।

यद्यपि केन्द्रिय बैंकले कर्जा विस्तार कम गर्ने र ब्याजदर बढ्ने गरी मौद्रिक नीति ल्याएको हुँदा दीगो रुपमा बजार बढ्न भने गाह्रो हुने लगानीकर्ताहरु बताउँछन्। ब्याजदर बढ्दै गएकाले त्यसले शेयर बजारमा नकारात्मक प्रभाव पार्ने केही लगानीकर्ताको विश्लेषण छ।

आइतबारको बजारमा फाइनान्स र विकास बैंकमा नै लगानीकर्ता बढी आकर्षण देखिएको छन्। यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ७.२२ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको पनि ५.१० प्रतिशतले बढेको छ। यस दिन १३ वटै उपसमूहको सूचक सकारात्मक छन्।

उच्च रुपले शेयरमूल्य बढ्ने १० कम्पनीमा ६ वटा फाइनान्स कम्पनी नै रहेका छन् जसमा तीन फाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ। यस दिन म्युचुअल फण्ड र डिबेन्चर बाहेक युनिलिभर कम्पनीको मात्रै शेयरमूल्य घटेको छ।

प्रतिक्रिया