
गाउँपालिका राष्ट्रिय महासंघले भन्यो- करारका कर्मचारीलाई जागिरबाट ननिकाल्नू
काठमाडौँ- गाउँपालिका राष्ट्रिय महासंघ नेपालले करार सेवामा रहेका कर्मचारीलाई कार्यसम्पादन मूल्यांकनका आधारमा म्याद थप गर्न स्थानीय सरकारहरूलाई अनुरोध गरेको छ।
गाउँ/नगरले साउन १ देखि करारका कर्मचारीको म्याद थपेका छैनन्। स्थानीय तहमा करारतर्फका सरसफाइ गर्नेदेखि सवारी चालक र स्वास्थ्यकर्मी, शिक्षक रिक्त अवस्था छ।
यसरी एकमुष्ट रूपमा करार सेवाका कर्मचारी नहटाउन महासंघले आग्रह गरेको हो। अनुभवी कर्मचारी हटाउँदा स्थानीय सरकारका कामकारबाहीमा पनि असर पर्ने महासंघको भनाइ छ।
लोक सेवा/प्रदेश लोक सेवाबाट सिफारिस भई कर्मचारी नआएसम्मका लागि करार सेवाका कर्मचारीलाई नै निरन्तरता दिन महासंघले आग्रह गरेको छ।
‘स्वीकृत दरबन्दीभित्र विद्यमान कानूनबमोजिम प्रक्रियागत नियुक्ति भएका र सन्तोषजनक कार्यसम्पादन गरिरहेका कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकनका आधारमा म्याद थप गरी सेवा लिनु स्थानीय सरकारका लागि अवसर पनि हो किनकी ती कर्मचारीको अनुभव र क्षमता अभिवृद्धिका लागि राज्यको लगानी परिसकेको छ,’ महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र महासचिव वंशलाल तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ।



कागजपत्र |
