

सिरहामा दुई जना मृत फेला

काठमाडौं – सिरहाको मिर्चैया नगरपालिकामा आज बिहान एक युवकको शव फेला परेको छ । मिर्चैया नगरपालिका-९ घुर्मी चौकदेखि १ सय मिटर उत्तर सडक किनारमा शव फेला परेको हो । शव मिर्चैया नगरपालिका-९ ढोढ्ना फत्तेपुरका २९ वर्षीय जीवन साहको रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
मृत्यु भएको साह बुधवार साँझ प्र.२-०१-००३ प २३४८ नम्बरको मोटरसाइकलमा तरकारी किन्न मिर्चैया बजार हिँडेको परिवारले जनाएको छ । उनी चढेको मोटरसाइकल सडकको अर्को किनारामा लडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरि बहादुर ओलीले प्रारम्भिक अनुसन्धानको क्रममा तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको देखिएपनि घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
यस्तै सिरहाको गोलबजार नगरपालिका-८ चोहर्वामा करेन्ट लागेर बुधवार राती ५५ वर्षीय अशेश्वर मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर नजिकैको खेतमा पानी पटाउन पुगेको मण्डललाई राती खाना खान बोलाउन पुग्दा करेन्ट लागेर मृत्यु भएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

