चिनियाँ वरिष्ठ नेता आज नेपाल आउँदै, आजै प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्ने


काठमाडौँ- चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओ आइतबार नेपाल आउँदै छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार लिउ चारदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आइपुग्ने भएका हुन्।

उनी विमानमार्फत आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ। आगामी बुधबारसम्म यहाँ रहँदा लिउले उच्च राजनीतिक तहमा भेटवार्ता गर्नेछन्। लिउले आजै प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेट्ने कार्यक्रम छ।

नेपालमा रहँदा चिनियाँ नेताले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने स्रोतले जानकारी दिएकाे छ।

एक महिनायता नेपालका प्रमुख दलसँग निरन्तर सम्पर्कमा रहेका चिनियाँ वरिष्ठ नेता लिउको भ्रमण तयारीका लागि परराष्ट्र र चिनियाँ दूतावासले समन्वय गरिरहेका छन्।

प्रतिक्रिया