बुढीगंगा नगरपालिकामा मतदान सम्पन्न, आजै मतगणना हुने


बाजुरा – बाजुराको बुढीगंगा नगरपालिकामा मतदान सम्पन्न भएको छ । बिहीबार बिहान ७ बजे सुरु भएको पुनः मतदान साँझ ५ बजे सकिएको हो । हाल मतपेटिकाको मुचुल्कालगायतका काम भइरहेको र मतदानको पछिल्लो विवरण तयार भइरहेको निर्वाचन अधिकृत लक्ष्मण कठायतले जानकारी दिए ।

बुढीगंगा नगरपालिकाको वडा नं ९ को त्रिशक्ति मतदान केन्द्रमा दिउँसो १२ बजे केही समय विवाद भएर मतदान रोकिएको थियो । प्रहरीले केही राउन्ड हवाई फायर पनि गरेको थियो । यद्यपि अन्य सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान सकिएको निर्वाचन अधिकृत कठायतले जानकारी दिए । आजै मतगणना हुने जनाइएकाे छ ।

बाजुर संवाददाता निमेन्द्र शाहीका अनुसार फर्जी मत खसाएको विषयलाई लिएर दलका कार्यकर्ताहरूबीच विवाद भएपछि दोहोरो झडप भएको थियो । एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवार भरतबहादुर थापा र मतदाता सीता थापाको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । वडा अध्यक्षका उम्मेदवार थापालाई जिल्लामा उपचार हुँन नसकेपछि धनगढी रेफर गरिएको छ ।

प्रत्येक मतदान केन्द्रमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्थापन चुस्त पारिएको निर्वाचन अधिकृत कठायतले बताए । ३० वैशाखमा भएको स्थानीय चुनावमा धाँधली भएपछि निर्वाचन आयोगले चुनाव रद्द गरेकाले बिहीबार पुनः मतदान गरिएको हो ।

बुढीगंगामा नगरपालिकामा १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । नगरपालिकामा मेयरका लागि नेपाली कांग्रेसबाट रङ्गबहादुर खाती र नेकपा एमालेबाट रामबहादुर बानियाँ मेयरका उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया