जनकपुरमा दोहोरियो बच्चा चोरीको घटना, एक जना पक्राउ


जनकपुरधाम – जनकपुरमा बच्चा चोरीको एक पछि अर्को घटना देखिन थालेको छ । पछिल्लो पटक दुई साताअघि हराएको बच्चासहित प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

भारतको बिहार सीतामढी घर भई जनकपुरधाम उपमहानगरपालिका-७ भ्रमरपुरा बस्ने हरिओम चौधरीका ४ बर्षीय छोरा सोहनकुमार ६ असारको साँझ ६ बजेतिर हराएका थिए । सीसीटीभी फुटेज हेर्दा एक महिलाले बच्चा लिएर चोकतिर गइरहेको देखिएको थियो ।

हराएको बच्चासहित महोत्तरीको पिपरा गाउँपालिका-४ बस्ने ६५ वर्षीया मैथुन खातुनलाई पक्राउ गरिएको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए । खातुनलाई उनको घरबाटै बच्चासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

फेला परेका बच्चाको कपाल काटिएको र टाउकोको एक ठाउँमा घाउ बनेको देखिएको छ । पक्राउ परेकी महिला उपर अपहरण तथा शरीर बन्धक शीर्षकमा अनुसन्धान सुरु गरिएको डीएसपी बस्नेतले बताए । यसअघि २६ माघ, २०७८ मा अर्काको बच्चा लिएर भाग्दै गरेको अवस्थामा दुई महिलासहित तीन जना पक्राउ परेका थिए ।

जनकपुरधाम उपमहानगरपालिका–६ बस्ने अमीर राइनका सात महिनाका छोरा अख्तर राइनलाई लिएर भाग्दै गर्दा धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नम्बर १० निवासी संजित मुखियाकी ३५ वर्षीया श्रीमती मनीषा देवी मुखिया, औरही गाउँपालिका १ पौडेश्वर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका–८ बस्ने बिगुल मुखियाकी २० वर्षीया श्रीमती किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका ४ घर भई जनकपुरधाम उपमहानगरपालिका–७ बस्ने २२ वर्षीय कृष्ण कुमार यादव पक्राउ परेका थिए ।

मनिषासँगै पक्राउ परेकी महिला किरण राम र यादवले बच्चा चोरीमा सहयोग गरेको प्रहरीले जनाएको थियो । छोरा नभएकाले जसरी पनि छोरा चाहियो भनेर मनिषाले अरुको बच्चा लगेको खुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया