

सामाजिक कथा वस्तुमा बनेकाे टेलिचलचित्र ‘खहरेघाट’ को प्रसारण शुरु

काठमाडाैं – नेपाली सामाजिक कथा वस्तुमा आधारित टेलिचलचित्र ‘खहरेघाट’ को प्रसारण शुरु भएको छ । असार १८ गते शनिवार बेलुकादेखि नेपाल टेलिभिजनबाट टेलिचलचित्र प्रसारण शुरु भएको हो । निर्माणपक्षका अनुसार टेलिचलचित्र प्रत्येक शनिवार साँझ ७ः३० बजे प्रसारण हुनेछ ।
रंगकर्मी किशोर अनुरागको कथा तथा निर्देशनमा तयार भएको टेलिचलचित्रमा देशभक्त खनाल, विद्या कार्की, किशोर अनुराग, लब शर्मा, इच्छा सिंह, सुबिना श्रेष्ठ, सन्तोस थापा, साक्षी सिंह भण्डारी, सुमन बिष्ट, रिता थापा, शशी थापा, दिनेश खड्का लगायतको अभिनय रहेको छ । टेलिचलचित्रको पटकथा तथा मुख्य सहायक निर्देशन इच्छा सिंहले गरेकी हुन् ।
आनन्द प्रभाकर घिमिरेको छायांकन रहेको टेलिचलचित्रमा समिर मियाको सम्पादन तथा शशी बिक्रम थापाको शीर्ष गीत रहेको छ । त्यस्तै, आनन्द प्रभाकर घिमिरे र हरी भण्डारी निर्माता रहेको टेलिचलचित्रका कार्यकारी निर्माता दिनेश अधिकारी हुन् ।
टेलिचलचित्रमा उतारिएको ‘खहरेघाट’ २०६३ को नाटक महोत्सवमा पुरस्कृत भएको थियो । सोही नाटकलाई निर्देशक अनुरागले टेलिचलचित्रमा रुपान्तरण गरेका हुन् ।
सुकुम्बासी वस्तीको कथा देखाउन खोजिएको टेलिचलचित्र देशका विभिन्न भागमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ ।

