
टेक्सस ५३ आप्रवासी मृत्यु: चालकलाई लरीको एसी काम नगरेको ‘थाहा थिएन’ !
हालै अमेरिकाको टेक्ससमा ज्यान गुमाएका ५३ जना आप्रवासी बोकेको लरीका चालक भनेर ठानिएका व्यक्तिलाई उक्त सवारी साधनभित्र वातानुकूलित प्रणालीले काम नगरिरहेको भन्ने थाहा नभएको बताइएको एक जना सुराकीले जनाएका छन्।
सङ्घीय अदालतमा प्रस्तुत गरिएका कागजपत्रमा होमेरो सामोरानोलाई त्यसबारे थाहा नभएको उल्लेख गरिएको छ। अधिकारीहरूले उनी ट्रक नजिकै लुकेको अवस्थामा फेला परेको जनाएका छन्।
टेक्ससका यी व्यक्ति अमेरिकी इतिहासकै सबैभन्दा खराब मानव तस्करीसँग सम्बन्धित घटनामा आरोपित गरिएका चार जनामध्ये एक हुन्।
उक्त सवारी साधनमा फेला परेकामध्ये कैयौँ बालबालिकाको अझै उपचार भइरहेको छ।
यसैबीच अर्को घटनामा आप्रवासीहरू बोकिरहेको अर्को ट्रक टेक्ससको सोही क्षेत्रमा फेला परेको छ।
सरकारी सुराकी के भन्छन् ?
४५ वर्षका सामोरानो र अर्का आरोपित षडयन्त्रकारी क्रिस्टिअन मार्टिनेज, २८ लाई एकदमै उच्च तापक्रममा ट्रक फेला पर्नुअघि र पछि उक्त तस्करी अभियानसँग सम्बन्धित सन्देशहरू एक अर्कालाई आदानप्रदान गरेको आरोप लगाइएको छ।
आप्रवासन र भन्सार कार्यान्वयन तथा टेक्सस प्रहरीलाई जानकारी दिने गोप्य सरकारी सुराकीले मृत्यु भएका विवरण आएपछि पनि ती दुईबीच कुराकानी भएको ती सुराकीले अधिकारीहरूलाई बताएका थिए।
अदालतको दस्तावेजमा “चालकलाई वातानुकूलित प्रणालीले काम गर्न बन्द गरेको र त्यसै कारण ती व्यक्तिहरूले ज्यान गुमाएको थाहा थिएन,” भनेको जनाइएको छ।
सामोरानो ट्रक नजिकै एउटा झाडीमा लुकेको अवस्थामा फेला परेका थिए। मेक्सिकोका अधिकारीहरूले सामारानोले सुरुमा बेहोस भएको बहाना गरेर ज्यान बचेको व्यक्तिका रूपमा आफूलाई देखाउन खोजेको जनाएका छन्।
तर पछि टेक्ससको लरेडोको जाँच चौकी पार गर्न खोज्दा निगरानीका लागि खिचिएका तस्बिरमा उनले ट्रक चलाइरहेको देखिएको थियो। त्यसैका आधारमा उनलाई गिरफ्तार गरिएको छ।
टेक्ससका एक जना सांसदका अनुसार पक्राउ परेको समयमा उनमा मेथम्फेटमिन भन्ने एक प्रकारको कृत्रिम शक्तिवर्धकको उच्च मात्रा पाइएको थियो।

दुवै व्यक्ति तस्करी र षडयन्त्रको आरोपमा दोषी ठहर भए उनीहरूले मृत्युदण्डको सजाय पाउनेछन्।
उक्त घटनामा संलग्न भएको आरोप लागेको अन्य दुई व्यक्तिहरूलाई हातहतियार राखेको र अमेरिकामा गैरकानुनी रूपमा बसेको आरोप लगाइएको छ। ती दुवै मेक्सिकोका नागरिक हुन्।
कति मृतकको पहिचान भयो ?
मेक्सिकोका अधिकारीहरूले उक्त लरी भित्र ६७ जना रहेको बताएका छन्। तर सान एन्टोनियोस्थित अमेरिकी अभियोजनकर्ताहरूले ६४ जना भनेका छन्।
शुक्रवार बेक्स काउन्टीका स्वास्थ्य परीक्षण अधिकारीले मृतक ५३ मध्ये ६ जनाको ठोस रूपमा पहिचान गरिएको बताएका थिए।
त्यसबाहेक ४२ जनाको सम्भावित पहिचान खुलेको बताइएको छ भने पाँच जनाको पहिचान खुल्न बाँकी छ। पीडितमध्ये २७ जना मेक्सिको, १४ जना होन्डुरस, ७ जना ग्वाटेमाला र २ साल्भाडोरको रहेको हुनसक्ने ठानिएको छ।
शुक्रवार नै बेक्स काउन्टी सेरिफको कार्यालयले पहिलो ट्रक फेला परेको ठाउँभन्दा केही माइल पर आवासीय क्षेत्रमा त्यसै छाडिएको अवस्थामा फेला परेको एउटा १८ पाङ्ग्रे ट्रकका बारेमा अनुसन्धान थालेको छ।
अमेरिकामा बीबीसीको साझेदार रहेको सीबीएसलाई बताइए अनुसार त्यहाँ १३ जना आप्रवासी रहेका थिए।
अमेरिका र मेक्सिको सीमामा मानव तस्करी एउटा ठूलो उद्योगका रूपमा रहेको छ।
मे महिनामा अति उच्च सङ्ख्या- २ लाख ३९ हजार कागजपत्रविहीन आप्रवासीहरूलाई मेक्सिकोबाट अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ गरिएको थियो।
हालैका वर्षहरूमा यस्ता खालका घटना अन्यत्र पनि भएका थिए।



बिबिसी |
