

प्रधानमन्त्री मोदीको आलोचना गर्ने पत्रकार पक्राउ

नयाँदिल्ली – भारतमा प्रहरीले प्रधानमन्त्री नरेन्द्र मोदीका एक कटु आलोचक रहेका तथ्य जाँच गर्न स्थापित एउटा वेबसाइटका सहसंस्थापकलाई पक्राउ गरेका छन्।
मोहम्मद जुबैर अल्ट न्यूजका पत्रकार हुन् र उनीमाथि सामाजिक सञ्जाल ट्विटरमार्फत् धार्मिक आस्थामाथि आघात पुर्याएको र घृणा फैलाएको आरोप लगाइएको छ।
विपक्षी नेताहरू र पत्रकारहरूले उक्त गिरफ्तारीको निन्दा गरेका छन्।
उनीहरूले घृणा फैलाउने अभिव्यक्तिको विपक्षमा उभिएकाहरूलाई दमन गर्ने भारतको हिन्दू राष्ट्रवादी सरकारको प्रयासका रूपमा पछिल्लो गिरफ्तारीलाई लिएका छन्।
जुबैरले हालै भारतीय जनता पार्टीकी प्रवक्ताले एउटा टेलिभिजन बहसमा पैगम्बर मोहम्मदलाई अपमान गरेको भनिएको विषयलाई प्रमुखताका साथ उठाएका थिए।
उनले गरेको ट्वीट व्यापक रूपमा शेअर गरिएको थियो र त्यसका कारण कैयौँ मुसलमान देशहरूले भारतविरुद्ध रोष प्रकट गरेका थिए।
केही सातायता हिन्दू राष्ट्रवादीहरूले जुबैरले विगतमा व्यक्त गरेका प्रतिक्रियाहरूप्रति ध्यानाकर्षण गराउँदै आएका थिए र आफ्नो धार्मिक आस्थामा ठेस पुर्याएको भन्दै सरकारको निन्दा गरेका थिए।
मोहम्मद जुबैर को हुन्?
जुबैर चर्चित भारतीय पत्रकार हुन। उनले पूर्वइन्जिनियर प्रतीक सिन्हासँग मिलेर सन् २०१७ मा अल्ट न्यूज नामक फ्याक्ट चेकिङ वेबसाइट सुरु गरेका थिए।
भारतमा मिथ्या सूचना र समाचारलाई नियन्त्रण गर्न प्रभावशाली भूमिका खेल्दै छोटो समयमा नै उक्त वेबसाइटले ख्याति कमाएको छ।
अल्ट न्यूजले गरेका तथ्यजाँचहरू जुबैरले आफ्नो ट्विटर खातामार्फत् शेअर गर्ने गरेका थिए। ट्विटरमा उनका पाँच लाखभन्दा बढी फलोअर छन्।
गत साता एउटा इमेल पाएका थिए जसमा यति नरसिंहानन्द, महन्थ बजरङ्ग मुनि र आनन्द स्वरूपका घृणासँग सम्बन्धित अभिव्यक्तिबारे टिप्पणी गरेकोमा ट्विटरमाथि आक्रमण भइरहेको जनाइएको थियो।
मुस्लिम समुदायविरुद्ध उत्तेजनात्मक र आपत्तिजनक प्रतिक्रिया दिने हिन्दू नेताहरूलाई जुबैरले “घृणा फैलाउने”को सङ्ज्ञा दिने गरेका छन्। यति नरसिंहानन्दलाई त्यस्तो अभिव्यक्ति दिएकोमा थुनामा राखिएको थियो र पछि धरौटीमा छाडिएको थियो।
पक्राउ किन गरियो?
सोमावार जुबैरलाई एउटा ट्विटर खातामार्फत् गरिएको उजुरीका आधारमा दिल्लीबाट गिरफ्तार गरिएको हो।
त्यसमा उनले सन् २०१८ मा हनुमान्को नाममा एउटा होटलको पुनर्नामकरण गरिएको विषयमा जनाएको प्रतिक्रिया आपत्तिजनक रहेको उल्लेख गरिएको एएनआई समाचारसंस्थाले दिल्लीका वरिष्ठ प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ।
प्रहरीले पछि जारी गरेको विज्ञप्तिले उक्त ट्वीटलाई जुबैरका फलोअरले थप फैलाएको र त्यसले “शृङ्खलाबद्ध बहस/घृणा फैलाउने काम गरेको” उल्लेख गरिएको छ।
प्रहरीले जुबैरको व्यवहार “प्रश्न उठाउन मिल्ने” रहेको भन्दै त्यसका लागि “हिरासतमा राख्न दिइनुपर्ने” दाबी गरेको थियो।
अल्ट न्यूजका सहसंस्थापक प्रतीक सिन्हा उनीसँगै प्रहरीसमक्ष गएका थिए। उनले आफू र जुबैर दुवैलाई पक्राउ गर्न प्रयोग गरिएको भनिएको उजुरीको प्रतिलिपि नदिइएको बताए।
सुरुमा उनीहरूलाई पक्राउ गरेर कहाँ लगिँदैछ भन्ने बताइएको पनि थिएन।
जुबैरलाई सोमवार स्थानीय म्याजिस्ट्रेटसमक्ष प्रस्तुत गरिएको थियो। उनले जुबैरलाई एक दिन हिरासतमा राख्ने अनुमति दिएका थिए। त्यसपछि उनलाई आफ्ना वकिलसँग भेट्न दिइएको थियो।
कैयौँ पत्रकारहरूले उनको तुरुन्तै रिहाइको माग गरिरहेका छन्।
पत्रकार राना आयुब भन्छिन्, “निरन्तर मिथ्या समाचार खारेज गर्ने र भारतमा घृणा फैलाउने संयन्त्रको पर्दाफास गर्ने जुबैर भर्खरै पक्राउ परेका छन्।”
उनले भारतमा देखिएको विचलनबारे समाचार लेख्ने र त्यसको विवरण राख्नेहरूलाई दण्डित गरिएको पनि जनाएकी छन्।
विपक्षी दल कङ्ग्रेसका नेता राहुल गान्धीले पनि उक्त गिरफ्तारीको चर्को शब्दमा निन्दा गरेका छन्। -बीबीसी

