विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्छ : कमला पन्त


काठमाडौं – राष्ट्रियसभा सदस्य कमला पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिन माग गरेकी छन्।

बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य पन्तले विदेशमा बस्ने नेपालीहरुलाई मतदानको अधिकार दिनुपर्ने बताएकी हुन्।

मतदान गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै उनले विदेशीएका नेपालीहरुले सो अधिकार गुमाइरहेका बताइन्। उनले नागरिकलाई मतदान गर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्नेकुरा न्यायको हिसाबले पनि उपयुक्त नहुने भन्दै विदेशी भूमिमा हुने नेपालीलाई मतदानको अधिकार दिन सरकारसँग माग गरिन्।

उनले भनिन्, ‘विदेशमा बस्ने नेपालीलाई मतदान गर्ने अधिकार दिनुपर्छ भनेर सर्वोच्च अदालतले २०७५ भदौ महिनामा फैसला गरेको छ। नैसर्गिक अधिकारलाई नेपाली नागरिकले गुमाइ राखेका छन्। विदेशमा बस्ने नेपालीहरुले यदी त्यही देशको नागरिकता लिएको छ र हाम्रो मुलुकको नागरिकता छोडेको छ भने अर्कै कुरा हो। नभए बाध्यतावश सबै नागरिकहरु यहाँ आएर मतदान गर्न सक्दैनन्। ती नागरिकलाई मतदान गर्न पाउने संवैधानिक अधिकारबाट वञ्चित गर्ने कुरा न्यायको हिसाबले उपयुक्त छैन।’

 

प्रतिक्रिया