लोकप्रीय उम्मेदवार र प्रविधिमैत्री प्रचार गरेको भए अझै धेरै सिट

स्थानीय निर्वाचन परिणममाथि कांग्रेसको मुल्याङ्कन


काठमाडौं – नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा लोकप्रीय उम्मेदवार खडा गरी प्रविधिमैत्री प्रचार गरेको भए अझ बढी सफलता प्राप्त हुने दाबी गरेको छ ।

पार्टीको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्तरगतको अनुगमम मुल्याङ्कन तथा सुपरिवेक्षण उपमितिले बिहीबार समिति संयोजक उपसभापति पूर्णबहादुर खड्कालाई बुझाएको प्रतिवेदनले यस्तो दाबी गरेको हो ।

तीन साता अघि सम्पन्न स्थानीय तहको निर्वाचनको मुल्याङ्कन गर्दै उपसमितिले राजनीतिक दलहरुसँगको समन्वय गरी राष्ट्रिय समस्या हल गर्ने पार्टीको नीति उपयुक्त भएको र पार्टी भित्रको आन्तरिक कमी कमजोरीलाई सच्याएमा अझ बढी सफलता प्राप्त हुने निष्कर्ष निकालेको हो ।

उपसमितिको प्रतिवेदन सार्वजनिक गर्दै संयोजक तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले कतिपय वडामा पार्टीको क्रियाशिल सदस्यता बराबर पनि मत नआएकोले सदस्यता वितरण प्रणालीमा पुनः विचार गर्नु पर्ने, चुनाव कम खर्चिलो, प्रविधिमैत्री र पारदर्शी निर्वाचन प्रणाली बनाउनु पर्ने बताए ।

नेता पौडेलले प्रतिवेदन सार्वजनिक गर्दै स्वतन्त्र उम्मेदवारहरुको विजयले लोकतान्त्रिक विधिमा जनता नै न्यायाधिश हुन्छन भन्ने मान्यता पुष्टी भएको र यसलाई सकारात्मक रुपमा लिनु पर्ने भन्दै यसले कांग्रेस भित्रको कमीकमजोरीलाई समिक्षा गर्दै सच्चिन संकेत गरेको बताए ।

समितिले आगामी संघीय संसद र प्रदेश सभाको निर्वाचनमा राजनैतिक सहकार्यको जरूरी र सान्दर्भिक भएकाे भन्दै पार्टी पंक्तिलाई राजनीति सहकार्यकाे मर्म बुझाउँदै स्वच्छ छवि भएको, उर्जाशीललता, घोषणा पत्र स्थानीयकरण गर्न सक्ने क्षमता भएको लोकप्रीयता र निरन्तरताको आधारमा आन्तरिक सर्बेक्षण गरी उम्मेदवार बनाउन पार्टीलाई सुझाव दिएको छ ।

उपसमितिले टिकट वितरण विधानले निर्दिष्ट गरेको समयमा हुनुपर्ने, प्रचार प्रशार शैलीमा आधुनिक प्रविधिको प्रयोग गर्नु पर्ने, प्रचार गर्न खासै समस्या नभए पनि प्रचार गर्न लायकको एजेण्डा भए पुग्ने आवश्यकता औंल्याउँदै मतदाता शिक्षाको अभाव भएको, लोकभाका र अन्य भाषामा कर्णप्रीय गीत बनाउनु पर्ने, डकुमेन्ट्री र भिडियो कन्टेण्टका रुपमा तयार गरी लाखौं कार्यकर्तामार्फत प्रचार गर्नु पर्ने र भ्रातृ र शुभेच्छुक संस्थाको प्रभावकारी परिचालन गर्नु पर्ने आवश्यकता औंल्याएको छ ।

कांग्रेसको स्थानीय तहमा उपस्थिति तथ्यमाः

गत बैशाख ३० गते सम्पन्न ७ सय ५२ स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले एक सय ८८ गाउँपालिकाको अध्यक्ष र एक सय ४१ नगर, उपमहानगर र महानगर प्रमुखसहित तीन सय २९ स्थानीय तहको नेतृत्व लिएको छ । यो जीतलाई कांग्रेसले ४४ प्रतिशत स्थानीय तहको नेतृत्व लिएको दाबी गरेको छ ।

उपाध्यक्ष १९० र उपप्रमुख ११० गरी तीन सय स्थानमा कांग्रेस विजयी भएको छ । यो जीतलाई पार्टीले ४० प्रतिशत स्थानीय तहको उपप्रमुख–उपाध्यक्षमा बर्चश्व कायम गरेको दाबी गरेको छ ।

कांग्रेसले स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट १२८ स्थानीय तहको नेतृत्वमा जित हासिल गरेको थियो भने गठबन्धनबाहेकबाट २०१ स्थानीय तहको नेतृत्व लिएको छ । कांग्रेसबाट जित हासिल गरेकामध्ये दुई ६८ नयाँ अनुहार विजयी भए भने ६१ जना पुरानैले जित हासिल गरेका छन् ।

कांग्रेसले नयाँ अनुहार ५१० जनालाई र पुराना १२२ जनालाई पालिका प्रमुखमा उम्मेदवार बनाएको थियो । उपसमितिले सात हजार छ सय ३३ वडाको निर्वाचनमा कांग्रेसले दुई हजार छ सय ६५ वडाध्यक्ष,दुई हजार छ सय छ महिला सदस्य, दुई हजार पाँच सय ५१ दलित महिला सदस्य र पाँच हजार तीन सय सात खुल्ला सदस्य विजयी भएको जनाएको छ ।

कांग्रेसले वडाध्यक्षमा पाएको मत संख्या ३८लाख ८३ हजार एक सय ३८ मत भएको र सो सख्या एमालेको भन्दा एक लाख ७५ हजार ७६ मत बढी भएको दाबी गरिएको छ ।

कांग्रेसले बागमति र कर्णालीमा एमालेको भन्दा दोब्बर संख्यामा स्थानीय तहको नेतृत्वमा जित हासिल गरेको जनाएको छ भने बागमति प्रदेशमा ५८ पालिका प्रमुख कांग्रेसले जित निकाल्दा एमालेले २५ स्थानीय तहमा, कर्णालीमा कांग्रेसले ३२ जित्दा एमालेको १५ सिटमा चित्त बुझाउनु परेको थियो ।

दुवै निर्वाचनमा उम्मेदवार भएर पालिकाको नेतृत्व एक सय ४० जनाले लिए भने २०७४ को स्थानीय तहको निर्वाचनमा जितेका दुई सय ६६ जना उम्मेदवार भए पनि एक सय २५ जना पराजित भए ।

तीन सय २४ अर्थात ४३ प्रतिशत स्थानीय तहमा गठबन्धन हुँदा कांग्रेसले प्रमुख पदमा २०९ स्थानमा उम्मेदवारी दिएर। एक सय २८ जना नेतृत्व लिन सफल भए भने उपप्रमुख पद एक सय १५ स्थानीय तहमा उम्मेदवारी दिँदा ८५ तहमा मात्र जित हासिल गरेको थियो ।

यस्तै माओबादीले ८१ प्रमुखमा उम्मेदवारी दिँदा ६९ जना र १४९ उपप्रमुखमा उम्मेदवारी दिँदा ७९ जना विजयी भएका छन् ।
नेकपा एसले प्रमुख २७ ठाउँमा उम्मेदवारी दिँदा १३ र ४३ उपप्रमुखमा उम्मेदवारी दिँदा १४ जना बिजयी भए ।

राष्ट्रिय जनमोर्चाले ४ प्रमुखमा गठबन्धन गरी उम्मेदवार दिँदा सबै विजयी भए भने ६ उपप्रमुख उम्मेदवार उठाउँदा तीन जना विजयी भए । जनता समाजबादी पार्टीले तीन प्रमुखमा गठबन्धन गरी उम्मेदवारी दिँदा २ मा जित निकालेको छ भने ११ उपप्रमुखमा उम्मेदवार हुँदा ४ स्थानमा विजय हासिल भएको छ ।

१०० कम मतले नेकाका १८ जना विजयी भएका छन् भने २७ निकटतम प्रतिद्धन्द्धी भएका छन् । गण्डकी प्रदेशमा भने कांग्रेस ३६ र एमाले ३५ स्थानीय तहको नेतृत्व लिएको छ । २०७४ मा कांग्रेसले दुई सय ६६ पद प्रमुख तथा अध्यक्ष जितेको थियो ।

प्रतिक्रिया