नेकपा एसको सचिवालय बैठकमा मन्त्री हेरफेरबारे छलफल


काठमाडौं – नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकमा पार्टीबाट सङ्घीय सरकारमा सहभागी भएका मन्त्रीहरू हेरफेर गर्नेबारे छलफल भएको छ ।

मन्त्रीहरू हेरफेर गर्ने वा नगर्ने शीर्ष नेताहरूसँग छलफल गरेर अध्यक्ष माधवकुमार नेपालले नै निर्णय गर्ने उपमहासचिव विजय पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार मन्त्रीहरूलाई सरकारमा पठाउँदा छ महिनाको समय दिइएको थियो ।

‘हामीले छ महिनाका लागि भनेर मन्त्रीहरू पठाएका थियौँ । छ महिनाभन्दा बढी भइसक्यो । मन्त्रीहरूसँग बसेर यसबारे छलफल गर्छौँ,’ सचिवालय बैठकपछि आज उनले पत्रकारहरूसँग भने, ‘शीर्ष नेताका बीचमा समझदारी भएर उपयुक्त ठानेमा अध्यक्षले आवश्यक निर्णय लिनुहुन्छ।’

पार्टीले मन्त्री हेरफेरको निर्णय गरेमा मन्त्रीहरूले निर्णय मान्नुपर्ने उनले बताए। ‘पार्टीले उहाँहरूलाई फिर्ता गर्न चाह्यो भने स्वभाविक रूपमा लिनुपर्दछ,’ उनले भने, ‘हाम्रा सबै मन्त्रीले यो निर्णय स्वभाविक रूपमा लिनुहुन्छ।’

प्रतिक्रिया