भीमदत्तको दुर्गम बस्तीमा विद्युत् सेवा


कञ्चनपुर–भीमदत्त नगरपालिका–९ का दुर्गमबस्ती खल्ला टुँडिखेल र मुसेट्टीमा विद्युत् सेवा विस्तार भएको छ । वर्षौँदेखि विद्युत्को माग गर्दै आएका बासिन्दा विद्युत् सेवा विस्तार भएसँगै खुशी भएका छन् । धेरै अघिदेखि तीनवटै गाउँमा विद्युत्का पोल गाड्ने कार्यसँगै तार तान्ने कार्य भए पनि विद्युत् सेवा सञ्चालन हुनसकेको थिएन ।

नगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा विद्युत् लाइन जडान गरी सेवा सञ्चालन गरिएको हो । ‘भारततर्फ उज्यालो देखिँदा यहाँका तीन बस्तीमा अँध्यारो देखिन्थ्यो’, नगरप्रमुख सुरेन्द्र विष्टले भने, ‘त्यहीँ भएर विद्युत् विस्तारका लागि लाग्यौँ । जनतासँग तीन वर्ष पहिले गरेको बाचा पूरा गरेका छौँ ।’

भारतीय सीमावर्ती बस्ती उजलीकोटमा वर्षौँअघि विद्युत् बलेको थियो । नेपालतिर विद्युत् जडान हुँदा तीन बस्ती वर्षौँदेखि अन्धकार थियो । स्थानीय तह निर्वाचनमा नगरप्रमुख विष्टले तीन बस्तीमा विद्युत् सेवा पु¥याउने बाचा गरेका थिए । चुनावमा गरिएको बाचाअनुसार यस वर्ष ती बस्तीमा विद्युत् पुगेको हो । नगरपालिकाको उज्यालो भीमदत्त कार्यक्रमअन्तर्गत तीन बस्तीमा विद्युत् लाइन विस्तार गरी विद्युत् सेवा सञ्चालन गरिएको छ ।

विद्युत् प्राधिकरणले तिहारअघिदेखि नै विद्युत् लाइन विस्तारको काम अघि बढाएको थियो । त्यसअनुसार खल्ला, टुँडिखेल र मुसेट्टीमा ट्रान्सफरमर जडान गरी सेवा शुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको गड्डाचौकी फ्यूज शाखाका फोरमेन राजकुमार चौधरीले बत्तीका लागि स्थानीयवासीका घरमा मिटर जडान गर्न लागिएको बताए ।

‘विद्युत् जडानका आवेदन मागेका छौँ, त्यसअनुसार हालसम्म ३५ परिवारको घरमा जडान भइसकेको छ’, उनले भने, ‘अरु घरमा पनि मिटर जडान गरी बत्ती बाल्न शुरु गर्छौँ ।’ पुरानो ब्रह्मदेव मण्डीका तीन बस्तीमा ४०० हाराहारीमा स्थानीयवासीको बसोबास छ । दुई दशकदेखि बस्दै आएका बासिन्दा विद्युत् लाइन विस्तार नहुँदा अँध्यारोमा बस्न बाध्य थिए ।

स्थानीय मानसिंह साउदले खल्ला मुसेट्टीमा पहिलोपटक बत्ती बलेर उज्यालो भएको बताए । ‘पहिला त केही थिएन, अहिले त बत्ती पनि बलेको छ’, ८२ वर्षीय साउदले भने, ‘पहिलाभन्दा अब राम्रो हुने भयो, भारतमा बत्तीको झिलिमिलि हुन्थ्यो । यतातर्फ धिपधिपे टुकीको सहारामा रातीका बेला उज्यालो गर्नुपर्दथ्यो, विद्युत् विस्तारले अब बस्तीको मुहार फेरिएको छ ।’ विद्युत् सेवाको आज नगरप्रमुख विष्टले उद्घाटन गरेका छन् ।

(रासस)

प्रतिक्रिया