काठमाडौंलाई काठमाडौं जस्तो सहर बनाउन मेरो रचनात्मक सहयोग हुनेछः सुनिता डंगोल
काठमाडौं – स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएसँगै काठमाडौं महानगरपालिका नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी भएका छन् भने उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवारी दिएकी सुनिता डंगोल विजयी भएकी छिन् ।
डंगोलले गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठलाई ठूलो मतान्तरले पराजित गर्दै काठमाडौं महानगरको उपप्रमुखमा विजयी भएकी हुन् ।
निर्वाचित भएलगत्तै सुनिताले आफूले नवनिर्वाचित नगरप्रमुखलाई आफ्नो रचनात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गरेकी छिन् । ‘हामीले जसरी पनि काठमाडौं बनाउनु छ, त्यसैले काठमाडौंलाई काठमाडौंजस्तो बनाउनका लागि सधैं लागि पर्नेछौं, अहिले सबैले मत दिनु भयो, अब सधैं सल्लाह र खबरदारी गर्नुहोला ।’ सुनिताले भनेकी छिन् । उनले काठमाडौंलाई विश्वका साथै नेपालको पनि अन्य कुनै सहर जस्तो बनाउन नहुने बताएकी छिन् । उनले काठमाडौंको विशिष्ट विशेषतालाई अंगालेर काठमाडौं जस्तो नै बनाउनमा आफूले जोड दिने बताएकी छिन् ।
उनी राष्ट्रिय सभागृहमा निर्वाचन समितिका पदाधिकारीबाट विजयको अविर लगाएसँगै निकालिएको विजय जुलुशमा सहभागी भएकी छिन् ।