अन्यायमा परेका डिआईजीः राजनीतिक हस्तक्षेप नभए बन्छन् एआईजी


काठमाडौं – निवर्तमान प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीले अवकाश पाउनु १८ दिनअघि लिएको एक अडानले प्रहरी संगठनभित्र राम्रो चर्चा पायो। क्षेत्रीको अडानले अन्याय खेपेका चारजना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) नायब महानिरीक्षक (डिआईजी)मा बढुवा भए।

गृह मन्त्रालयको बढुवा समितिको बैठकले एसएसपीहरु नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी र मसाउद आलम खाँलाई डिआईजीमा बढुवा सिफारिस गरेसँगै उनीहरुलाई केही न्याय मिलेको हो।

उनीहरु यसअघि नै बढुवा हुनुपर्ने भएपनि राजनीतिक दबाबको कारण अन्यायमा परेका प्रहरी अधिकृत हुन्। निराश भएर बसेका उनीहरुलाई क्षेत्रीले अन्तिम समयमा न्याय दिलाएका हुन्।

यदि डिआईजीमा बढुवा सिफारिस नभएको भए उनीहरु चारैजना उमेरहदका कारण यही वैशाखमा अवकाशमा जाने थिए। एसएसपीमा ५५ वर्षे उमेरहदका कारण उनीहरुले अवकाश पाउँदै थिए। तर चौधरीले क्षेत्रीसँगै अवकाश पाइसकेका छन्।

क्षेत्रीको त्यतिबेलाको अडानले उपाध्याय, खाँ र आचार्यको जागिरको समयावधी थपिएको छ। त्यस्तै परे उनीहरु प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)सम्म हुनेछन्। कुनै राजनीतिक हस्तक्षेप नभए उनीहरुमध्ये तीनैजना एआईजी बन्नेछन्।

धिरज प्रताप सिंह आईजीमा नियुक्त भएसँगै एआईजी विश्वराज पोखरेलले समेत उमेरहदका कारण आउँदो साउनमा अवकाश पाउनेछन्। उमेरहदका कारण २० साउनमा उनी घर जानेछन्।

एआईजी पोखरेल आईजीको दाबेदार समेत हुन्। तर, सरकारले सिंहलाई आईजी नियुक्त गरेपछि असन्तुष्ट बनेका पोखरेलले सर्वोच्च अदालतको ढोका ढक्ढक्याए पनि अन्तरिम आदेश कार्यान्वयन नगर्न आदेश दिइसकेको छ।

त्यस्तै एआईजी बढुवामा सिफारिस भएका मुकुन्द आचार्यले भदौ र अरुण बिसीले असोजमा अवकाश पाउनेछन्। यस्तै एआईजी रविन्द्र धानुक पनि उमेरहदका कारण आउँदो कात्तिकमा अनिवार्य अवकाशमा घर जानेछन्।

यसरी पोखरेल, आचार्य, बिसी र धानुकले अवकाश पाएसँगै पहिलो नम्बरमा एसएसपीबाट डिआईजीमा बढुवा भएका उपाध्याय र दोस्रो नम्बरका आचार्य र तेस्रो नम्बरमा खाँ एआईजी बन्नेछन्।

मेरिट लिस्टमा पहिलो नम्बरमा रहेका उपाध्याय पोखरेलको अवकाशपछि नै एआईजी बन्ने सम्भावना छ। त्यस्तै भदौमा मुकुन्द आचार्यले अवकाश पाएसँगै मोहन कुमार आचार्य समेत एआईजी हुनेछन्।

यसैगरी असोजमा बिसीले अवकाश पाएको अवस्थामा खाँ एआईजी बन्नेछन्। त्यसपछि कात्तिकमा धानुकले अवकाश पाएमा २०५१ को टोलीबाट एसएसपीबाट पहिलो नम्बरमा डिआईजी हुने एआईजी बन्नेछन्। एसएसपीबाट डिआईजी बढुवाको लागि ३७ जना अधिकृतहरुबीच कडा प्रतिस्पर्धा रहेको छ।

प्रतिक्रिया