

काठमाडौंसहित उपत्यकामा मदिरा बिक्री वितरण एवं सेवनमा निषेध

ललितपुर । काठमाडौँ उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यान दिँदै मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका छन् ।
ती कार्यालयले अलग अलग सूचना जारी गर्दै आज राति १२ बजेदेखि यही वैशाख ३० गतेसम्म मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका हुन् ।ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आज राति १२ बजेदेखि वैशाख ३० गतेसम्म ललितपुर जिल्लाभरि मदिरा बिक्री र खुलारूपमा सेवन नगर्न नगराउने सार्वजनिक सूचना जारी गरी निर्देशन दिएको जानकारी दिए ।
जिल्लाका छ वटै पालिकाका सुरक्षा निकायले पनि मदिरा बिक्री तथा सेवनलाई कडाइ गर्न सबै पालिकाका मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ ।
भक्तपुर जिल्लामा पनि आज राति १२ बजेदेखि वैशाख ३० गतेसम्म कुनै पनि मदिरा बिक्री तथा सेवन निषेध गरेको प्रमुख जिल्ला अधिकारी रुद्रावेदी शर्माले जानकारी दिइन् ।
मदिरा बिक्री गरेको, सेवन गरेको पाइए कारबाही गरिने बताउँदै उहाँले मतगणना नसकिएसम्म मतगणना स्थल आसपासमा मदिरा बिक्री एवं सेवनमा रोक लगाएको उनले जानकारी दिइन् ।
यसैगरी काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पनि आज मध्यरातिदेखि ३० गतेसम्मका लागि मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाएको जानकारी दिएको छ ।
निर्वाचनको समयमा मदिरा सेवन बढ्न सक्ने र यसले शान्ति सुरक्षामा असर पार्न सक्ने भए पनि मदिराजन्य पदार्थ बिक्री एवं सेवनमा रोक लगाइएको भक्तपुरकी प्रजिअ शर्माले बताइन् ।

