
डोल्पाका यी दुई गाउँपालिका, जहाँ भए अध्यक्ष/उपाध्यक्षसहित सम्पूर्ण वडाध्यक्षहरु निर्विरोध !
काठमाडौं – आसन्न स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा देशैभर चुनावी माहौल तातिरहेको यस अवस्थामा डोल्पाका दुई गाउँपालिका भने सुनसान छ ।
देशका करिब ९९ प्रतिशत मतदाताले आफ्नो स्थानीय तहमा कसले नेतृत्व गर्ला भनेर वैशाख ३० को मतदान र मतगणना कुरिरहेका छन् तर देशकै सबैभन्दा ठूलो जिल्ला डोल्पाका दुई गाउँपालिकामा पालिका प्रमुख र उपप्रमुख सहित सबै वडाध्यक्षहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।
देशकै दुर्गम जिल्ला भनिने चिनिने डोल्पालाई प्राकृतिक सम्पदाको खानीको जिल्लाको रुपमा पनि चिनिन्छ । निर्वाचनको संघारमा मुलुक रहेका बेला त्यही डोल्पाका दुई गाउँपालिका काइके र छार्का ताङसोङमा भने गाउँपालिका प्रमुख उपप्रमुखसहित सबै वडाध्यक्षहरु निर्वाचित भइसकेका छन् ।
यी दुवै गाउँपालिकामा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीका उम्मेदवारले पालिका प्रमुखमा जित हात पारेका छन् भने उपाध्यक्षमा छार्का ताङसोङमा एमालेका उम्मेदवार र काइकेमा नेपाली कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
काइके गाउँपालिकामा अध्यक्ष एकीकृत समाजवादीका अंगदकुमार राना निर्वाचित भइसकेका छन् भने उपाध्यक्षमा नेपाली कांग्रेसकी निमा बुढा निर्वाचित भएका छन् ।

त्यस्तै गरी ७ वटा वडा रहेको काइकेमा सम्पूर्ण वडाध्यक्षसहित ३५ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । काइकेमा ३ वटा वडामा एमालेका वडाध्यक्षसहितका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् भने २/२ वटामा नेपाली कांग्रेस र एकीकृत समाजवादीका वडाध्यक्षसहितका उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै छार्का ताङसोङमा एकीकृत समाजवादीका सेनाङ गुरुङ पालिका प्रमुखमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा नेकपा एमालेकी कर्म ढुण्डुप गुरुङ निर्वाचित भएका छन् । छार्कामा अध्यक्ष उपाध्यक्षसहित २६ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै ६ वटा वडा रहेको छार्कामा ६ वटै वडाका वडाध्यक्षहरु निर्विरोध निर्वाचित भएका छन् । ६ वटा वडा तीन राजनीतिक दलले बराबरी बाँडेका छन् । तिनीहरुमा २/२ वटा वडाध्यक्षसहित सदस्यहरु पनि नेपाली कांग्रेस, एमाले र एकीकृत समाजवादीका उम्मेदवारहरु निर्वाचित भएका छन् ।




कागजपत्र |
