त्रिभुवन विमानस्थलमा बम नभएको पुष्टि, विमान उडान सुरु


काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बम नभएको पुष्टि भएको छ । विदेशबाट अज्ञात व्यक्तिले फोन गरेर विमानस्थलको आन्तरिक टर्मिनलमा बम भएको बताएपछि विमानस्थलमा हंगामा भएको थियो ।

विमानस्थलमा बम फेला नपरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले बताएका छन् । फोन आएसँगै सेनाको बम डिस्पोजल टोलीसहितले सर्च गर्दा बम नभएको पुष्टि भएको हो ।

‘केही छैन । तै पनि अपरेसन हुँदै छ । भित्र केही देखिएन । कसले र कसरी फोन गरेर बम छ भन्यो रु अनुसन्धान भइरहेको छ’ एसएसपी कुँवरले भने ।

बिहान १० बजेतिर विमानस्थलको एउटा ल्यान्डलाइन फोनमा फोन गरेर नचिनेका मानिसले आफू मुस्लिम समुदायको मान्छे भन्दै विमानस्थल परिसरमा बम राखेको र डिस्पोज गर्न चुनौती दिएको प्रहरीले जनाएको छ ।

त्यसपछि विमानमा चढ्ने क्रममा रहेका यात्रुहरूलाई ओरालेर बाहिर निकालिएको थियो । तर, केही शंकास्पद बस्तु फेला नपरेपछि करिब डेढ घन्टापछि विमान उडान सुरु भएको छ ।

प्रतिक्रिया