

मेयरका उम्मेदवारहरुले गरे भ्रष्टाचार नगर्ने, गर्न पनि नदिने प्रतिबद्धता

विराटनगर – स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुखको उम्मेदवार बनेका पाँच उम्मेदवारले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रतिबद्धता जनाएका छन् । मंगलबार नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), विवेकशील साझा र स्वतन्त्रका उम्मेदवारहरुले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रतिबद्धता जनाएका हुन् ।
भ्रष्टाचार विरुद्ध नागरिक संस्था र विकल्प विराटनगरले आयोजना गरेको अन्तरक्रियामा मेयरमा उम्मेदवारी दिएका कांग्रेसका नागेश कोइराला, एमालेका सागर थापा, राप्रपाका प्रह्लाद साह, विवेकशील साझाका अमलेश कर्ण र स्वतन्त्र उम्मेदवार उमेश यादवले भ्रष्टाचार नगर्ने र जितेर गए महानगरमा गर्न पनि नदिने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरे ।
मेयरका पाँच जना दाबेदारले आफूले चुनाव जिते, शिक्षा स्वास्थ्य, खानेपानी र पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढाउने बताए । उनीहरूले विराटनगरकाे गिर्दो शाखलाइ माथि उकास्ने प्रतिबद्धता पनि जनाए । करको दर घटाउने र दायरा बढाएर चुहावट नियन्त्रण गर्ने योजना पनि रहेकाे उम्मेदवारहरूले बताए ।

