
निर्वाचन आचारसंहिता उल्लंघन गर्ने दललाई आयोगले गरायो सचेत
काठमाडाैँ- स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल तथा नेतालाई निर्वाचन आयोगले सचेत गराएको छ।
आयोगका अनुसार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) दलले गत चैत २६ गते भृकुटीमण्डपमा गरेको जनसभामा आचारसंहिता प्रतिकूल दलको झण्डा र बालबालिकाको प्रयोग गरेको हाे। यस विषयमा आयोगले छानबिन गर्दा आचारसंहिता विपरीत काम भएको ठहर गरेको हाे। वैशाख १६ गते (शुक्रबार) को निर्णयअनुसार आयोगले उक्त पार्टीलाई सचेत गराउने निर्णय गरेको छ।
आयोगको निर्णयमा भनिएको छ, ‘सो पार्टीले गरेको उक्त कार्य निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ र निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ विपरीत भए/गरेको देखिएकाले अब आइन्दा निर्वाचन आचारसंहिता विपरीतका कामहरू नगर्न नगराउन निर्देशन दिई, सो दलले आचारसंहिता उल्लङ्घन हुने कार्य गरेकोले सचेत गराउने।’



कागजपत्र |
