
स्थानीय निर्वाचन : हालसम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छापियो
काठमाडौं – स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख ७५ हजार मतपत्र छाप्ने कार्य भएको छ । ७२ जिल्लाका लागि १ करोड ७७ लाख ७५ हजार थान मतपत्र छाप्ने काम सम्पन्न भइसकेको आयोगले जनाएको छ । हालसम्म ३३ जिल्लाका लागि ५१ लाख ८१ हजार मतपत्र ढुवानी गरिएको छ ।
देशभरबाट १ लाख ५३ हजार २ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । जसमा प्रमुखमा ३ हजार ५ सय १०, अध्यक्षमा ३ हजार ३ सय ८७, उपप्रमुखमा २ हजार १ सय ६८, उपाध्यक्षमा २ हजार ४ सय १, वडाअध्यक्ष ३५ हजार ३ सय ५३, महिला सदस्यमा २६ हजार ५ सय ३२, दलित महिला सदस्यमा २३ हजार ९ सय ३१ र सदस्यमा ५५ हजार ७ सय २० जनाको मनोनयन दर्ता भएको छ । यसैबीच, आयोगले कानुनबमोजिम अहिलेसम्म कुनै पनि उम्मेदवार निर्विरोध निर्वाचित नभएको जनाएको छ । कसैले कुनै पदमा एक्लैले उम्मेदवारी दिएको भए पनि कानुनको कसीमा परीक्षण हुने चरणहरू बाँकी नै रहने भएकाले तत्काल निर्विरोध निर्वाचित भएको भन्न नमिल्ने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।
उनले विभिन्न ठाउँमा रूपमा निर्विरोध भएको भनेर भनिए पनि आयोगले भने त्यसरी कसैलाई पनि निर्विरोध भनेर घोषणा गरेको अवस्था नरहेको पनि बताउनुभयो । वैशाख ११ र १२ गते मनोनयन दर्ता भएपछि १३ गते दाबी विरोधको समय दिएको तथा १४ र १५ गते दाबी उपरमाथि छानबिन गरेर नामावली प्रकाशित गर्ने निर्वाचन कार्यतालिका रहेको छ । एक जना मात्रैको मनोनयन भए पनि सीधै हामीले निर्विरोध भन्न सक्दैनौं’, उनले भने– ‘कानुनको कसीमा उहाँ एक जना भए पनि कानुनको ढोकाबाट छिर्न सक्नुपर्छ । दाबी विरोधको प्रक्रियाबाट पनि सफल हुनुभयो भने निर्विरोध हुन सक्नुहुन्छ । आयोगले अहिलेसम्म त्यसरी भनेको छैन ।’
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।



कागजपत्र |
