कोरोनाविरुद्धको खोप अभियानमा सफल भएको सरकारको दाबी


काठमाडौं – नेपालमा पछिल्ला दिनहरूमा कोभिड–१९ विरुद्धको खोप लगाउनेको संख्या घट्दो क्रममा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा दैनिक खोप लिनेको संख्या सात हजारदेखि ६१ हजारसम्म छ । सरकारले गएको चैत मसान्तरसम्म दैनिक पाँच लाखका दरले १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिइसक्ने घोषणा गरेको थियो । तर, १८ वर्षमाथिका अझै ११ लाख ९४ हजार ८५९ जना पहिलो डोज खोप लगाउन बाँकी रहेको मन्त्रालयको तथ्यांकमा देखिन्छ ।

सरकारले भने आफ्नो लक्ष्यअनुसार कोरोनाविरुद्धको खोप अभियानमा सफलता हात पारेको दाबी गरेको छ । २०७८ चैत मसान्तसम्म १८ वर्ष माथिको सबै जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउने लक्ष्य लगभग पूर्ण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।

उनले गत वर्षको माघ १४ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु गरेपछि चैत्र मसान्तसम्म १८ वर्षमाथिको उमेर समूहकालाई लक्षित वर्गमा राखेर अभियान शुरु गरिएको र अभियानमा सरकारले लगभग लक्ष्य पूरा गरेको बताए । सहप्रवक्ता अधिकारीले सरकारले यो बीचमा लगभग ९५ प्रतिशत खोपको पहिलो मात्रा लगाइसकेको बताए ।

त्यस्तै ९० प्रतिशतको हाराहारीमा लक्षित वर्गलाई पूर्ण मात्रा खोप लगाएको बताए । उनले आगामी दिनमा पनि कोरोनाविरुद्धको खोप अभियान जारी रहने र खोपको दायरामा नआएका नागरिकलाई खोपको दायरामा ल्याइ खोप अभियानलाई पूर्णता प्रदान गर्नेतर्फ सरकार केन्द्रित रहेको स्पष्ट पारे ।

सहप्रवक्ता अधिकारीले विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाविरुद्धको खोप प्रयोग नगरेर खेर फालेको भन्ने समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताए । उनले हालसम्म सरकारले कोरोनाविरुद्धका खोपहरू खेर नफालेको दाबीसमेत गरे । सहप्रवक्ता अधिकारीले सरकारले दुःख गरेर पाएको खोपलाई महत्वका साथ कसरी प्रयोग गर्न सकिन्छ भन्ने रणनीति बनाएर खोपलाई यथोचित प्रयोग गरिरहेको पनि बताए ।

प्रतिक्रिया