डेढ वर्ष पछि आलमको मुद्दामा सुनुवाई हुँदै


काठमाडौं – सर्वोच्च अदालतमा नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहमद अफ्ताब आलमको मुद्दामा करिब डेढ वर्ष पछि सुनुवाई हुने भएको छ । न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुबेदीको संयुक्त ईजलासमा आलम विरुद्धको मुद्दामा सुनुवाई भईरहेको छ ।

ईँटा भट्टामा हालेर २० जना भन्दा बढी मजदुरलाई जिउँदै जलाएको अभियोगमा पक्राउ परेका आलमलाई जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो । सोही आदेश विरुद्ध आलमले २०७७ असोज १२ गते जिल्ला र उच्च अदालतको आदेश बदर गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा निवेदन पेश गरेका थिए । अहिलेसम्म १७ औँ पटकसम्म आलमको मुद्दा पेशीमा चढेपनि सुनुवाई हुन सकेको थिएन ।

जिल्ला र उच्च अदालत हुँदै सर्वोच्च पुगेको आलमको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन छ । पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश र सोही आदेशलाई सदर गर्ने उच्च अदालत वीरगञ्जको आदेश खारेज हुनुपर्ने निवेदनमा माग गरिएको छ ।

सरकारी वकिलको कार्यालय रौतहटले आलमलाई त्रिलोकीप्रताप सिंह र ओसी अख्तरको हत्या अभियोगमा २५ वर्ष, सर्लाहीका सफी अहमदलाई बम विष्फोटन गराई घाइते भएको घटनामा ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा १० वर्ष र विष्फोटक पदार्थ सम्बन्धी मुद्दामा १० वर्ष गरी ४५ वर्ष कैद सजाय हुनुपर्ने माग गर्दै मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया