परिणाम देखिने गरी चुनावमा केन्द्रित हुन अध्यक्ष प्रचण्डको निर्देशन


काठमाडौं –  स्थानीय तहको निर्वाचनको तयारीबारे छलफल गर्न नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिणाम देखिने गरी चुनावमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा आज (शुक्रबार) बिहान बसेको पूर्वस्थायी समिति र प्रदेश इन्चार्जहरूको विस्तारित बैठकले उम्मेदवारहरु छिटो चयन गर्ने र परिणाम देखिने गरी अगाडि बढ्ने निर्णय गरेको हो ।

जति सक्दो छिटो उम्मेदवार चयन गर्नका लागि वातावरण सिर्जना गर्ने निर्णय भएको सहभागी एक नेताले भने । उनका अनुसार शीर्ष नेतृत्वले गठबन्धनमा रहेका दलहरुका बीचमा छलफल गर्ने र अन्य नेताहरु जिम्मेवारी अनुसार सम्बन्धित पालिकामा उम्मेदवार चयन गर्ने गरी प्रस्तुत हुने निर्णय भएको छ ।

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले एकताबद्ध भई परिणाम देखिने गरी चुनावमा होमिन निर्देशन दिएका थिए । सत्ता गठबन्धनका दलहरुबीच तालमेल नभए एमालेसँग तालमेल नगर्ने बरु एक्लै चुनाव लड्नुपर्ने प्रचण्डले बताएको एक नेताले बताए ।

प्रतिक्रिया