इन्स्पेक्टरले कुटे प्रहरी बरिष्ठ हवल्दार र ट्रक ड्राइभर !

मादक पदार्थ सेवन गरी खानीखोला इलाका प्रहरी कार्यालयका इन्चार्ज अपूर्व ढुंगानाले बरिष्ठ हवल्दार श्रीभक्त तामाङ र ट्रकका चालक ध्रुव श्रेष्ठमाथि हातपात गरेका हुन्


धादिङ – प्रहरी निरीक्षक (इन्स्पेक्टर) अपूर्व ढुंगानाले मातहतका प्रहरी बरिष्ठ हवल्दार र ड्राइभरलाई कुटेका छन् । राजधानी नजिकैको खानीखोला इलाका प्रहरी कार्यालयका इन्चार्जसमेत रहेका ढुंगानाले मादक पदार्थ सेवन गरी आफू मातहतकै प्रहरी बरिष्ठ हवल्दार श्रीभक्त तामाङ र ट्रकका चालक ध्रुव श्रेष्ठलाई कुटपिट गरेको जनाइएको छ ।

रातको समयमा ट्रक रोकेर चौकी नजिकै बसेका श्रेष्ठलाई इन्स्पेक्टरले पिटेको जनाइएको छ । श्रेष्ठलाई पिटाइबाट बचाउनका लागि गएका तामाङमाथि ढुंगाना उल्टै जाइलागेका थिए ।

तामाङलाई ढुंगानाले आफूले लगाएको पेटी खोलेर पिट्दै चौकीका अन्य प्रहरीलाई पनि तथानाम गाली गरेका थिए । आफ्नो जिउभरि बेल्टले कुटेर निलडाम नै रहेको तामाङले बताए ।

ढुंगानाले चालक श्रेष्ठलाई नियन्त्रणमा लिए पनि बिहान छोडिदिएका थिए भने बरिष्ठ हवल्दार तामाङलाई भने ‘रक्सीको तालमा के–के भयो’ भन्दै सम्झाउन खोजेका थिए ।

गृहमन्त्री बालकृष्ण खाँणका पूर्व पीएसओसमेत रहेका ढुंगाना शक्तिकेन्द्रकै आडमा खानीखोला सरुवा भएको जनाइन्छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार भने मादक पदार्थ सेवन गरी मातहतकै कर्मचारी र मजुदरलाई हातपात गर्ने अधिकारीमाथि कारबाही गर्ने तयारी गरिएको छ । अहिले ढुंगाना भने प्रधान कार्यालयले कारबाही गर्ने डरले विभिन्न शक्तिकेन्द्र धाईरहेको जनाइएको छ ।

ढुंगाना हालैमात्र प्रधान कार्यालयले गरेको प्रहरी निरिक्षकको सरुवामा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरबाट खानीखोला पुगेका थिए ।

प्रतिक्रिया