केपी ओलीको अभिव्यक्तिप्रति मगर समुदायको आपत्ति


काठमाडौँ- केही दिनअघि रुपन्देहीमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले नेपालका प्रथम सहिद लखन थापाविरुद्ध अभिव्यक्ति दिएको भन्दै मगर समुदायले असन्तुष्टि जनाएका हुन्।

मंगलबार नेपाल मगर संघ रुपन्देहीले बुटवलमा पत्रकार सम्मेलन गरी ओलीले यही चैत १८ गते रुपन्देहीको एक कार्यक्रममा दिएको अभिव्यक्ति आपत्तिजनक रहेको जनाएको हो।

एमालेले आयोजना गरेको कार्यक्रममा ओलीले लखन थापा नेपालको प्रथम सहिद होइनन् भन्ने अभिव्यक्ति दिएका थिए। ओलीको उक्त अभिव्यक्तिविरुद्ध नेपाल मगर संघ रुपन्देही जिल्ला समन्वय समितिका अध्यक्ष आनबहादुर सोती मगर र सचिव थर्क बाह्रघरे मगरले विज्ञप्ति प्रकाशित गरी आपत्ति जनाएका हुन्।

उनीहरुले एमाले अध्यक्ष ओलीको उक्त अभिव्यक्तिलाई ‘कुप्रचार’को संज्ञा दिएका छन् । सचिव मगरले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले सारा सहिदको अपमान हुने गरी दिएको अभिव्यक्ति फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन्।

लखन थापालाई सरकारले नेपालको प्रथम सहिद घोषणा गरेको र हुलाक टिकटसमेत निकालिसकेको अवस्थामा एमाले अध्यक्ष ओलीले कपोकल्पित र तथ्यहीन अभिव्यक्ति दिएर सिङ्गो मगर समुदायको मात्र नभई आम नेपाली जनताको परिवर्तनको आन्दोलनलाई खिल्ली उडाउन खोजेको संघका अध्यक्ष मगरको आरोप छ।

प्रतिक्रिया