
पाँच महिनादेखि टेलिफोन सेवा अवरुद्ध
सिमकोट– हुम्लाको सिमकोट गाउँपालिका–७ धारापोरीमा टेलिफोन सेवा अवरुद्ध भएको पाँच महिना भएको छ। मर्मतमा नेपाल टेलिकमले वास्ता नगर्दा सेवाग्राहीले पाँच महिनादेखि सास्ती खेप्नु परेको छ।
गत मंसिरमा बिग्रिएको नमस्ते टेलिफोन टावरको अझै मर्मत हुन सकिरहेको छैन। पाँच महिना टेलिफोन सेवा अवरुद्ध हुँदा उत्तरी नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका अधिकांश गाउँका नागरिक सञ्चारमा जोडिसकेका छैनन्।
सिमकोट–७ धारापोरीमा रहेको टावरमा खराबी आएका कारण पाँच महिनादेखि त्यस क्षेत्रका नागरिक टेलिफोन सेवाको पहुँचबाट टाढा रहेको स्थानीय पाङ्लाथुम गाउँका बासिन्दा सरिता शाहीले बताइन्। धारापोरी टावरमा खराबी आएका कारण दुई गाउँपालिकाका सिमकोट र नाम्खाका केही वडाका सेवाग्राहीलाई समस्या भएको छ।
धारापोरीको ठाडा ढुङ्गा लेकमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा सिमकोटका स्याडा, डाडाँफया, चौगनफाय, धारापोरी, खोल्सी र पाङ्लाथुम तथा नाम्खाका हेप्का, धिगाँ, केर्मी, खगालगाउँ, गाडापारीलगायत गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित रहेको स्थानीय संगीता शाहीले बताइन्।
टावर मर्मतका लागि नेपाल टेलिकम शाखा सिमकोटमा जानकारी गराउँदा कुनै वास्ता नगरेको स्थानीयवासीले बताएका छन्। गाउँमै रहेको टावरले काम नगर्दा तीन घण्टाको पैदल हिँडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको स्थानीयवासीको भनाइ छ।
त्यस क्षेत्रमा रहेको नेपाल टेलिकमको बिटिएसमा गत मंसिरमा आगलागी हुँदा मोबाइल सेवा अवरुद्ध भएको हो।
विद्युत् सर्ट भएर आगलागी भएको थियो। लामो समयदेखि आफन्तसँग फोन सम्पर्कमा जोडिन नसकेको बताइएको छ।



कागजपत्र |
