

प्रेस सेन्टर नेपालको आयोजनामा आधारभूत पत्रकारिता तालिम सम्पन्न

सोलुखुम्बु – सोलुखुम्बुमा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल, सोलुखुम्बुको आयोजना तथा नेकपा (माओवादी केन्द्र), सोलुखुम्बुको समन्वयमा ३ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको हो ।
जिल्लाको सदरमुकाम सल्लेरीस्थित जिल्ला समन्वय समितिको हलमा सम्पन्न तालिममा ४५ भन्दा बढी प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । उनीहरूलाई पत्रकारिताका आधारभूत सीप तथा कार्य(कौशलता सिकाइएको प्रेस सेन्टर नेपाल, सोलुखुम्बुका सदस्य प्रदीप नाछिरिङले जानकारी दिए ।
‘४५ जनाभन्दा बढी सहभागीहरू हुनुहुन्थ्यो,’ सदस्य नाछिरिङले भने, ‘उहाँहरूलाई खासगरी समाचारसँग सम्बन्धित सन्दर्भहरूको प्रशिक्षण गरिएको हो । उहाँहरूले पत्रकारितासँग सम्बन्धित ज्ञानसँगै विभिन्न सीप हासिल गर्नुभयो भन्ने अपेक्षा प्रेस सेन्टर नेपाल, सोलुखुम्बुले लिएको छ ।’
तालिममा ३ दिनसम्म नेपाल पत्रकार महासंघ, सोलुखुम्बुका उपाध्यक्ष एवम् प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य भोजराज कार्कीलगायतले प्रशिक्षण गराएका थिए । सोलु एफएमका स्टेशन मेनेजरसमेत रहेका कार्कीसँगै प्रेस सेन्टर नेपाल सोलुखुम्बुका उपाध्यक्ष अन्जु कार्कीलगायतले पनि सहभागीहरूलाई पत्रकारिताको कार्य(कौशलता प्रदान गरेका थिए ।
सहभागीहरूलाई शनिवार आजैे प्रमाणपत्र वितरण गर्दै तालिम समापन भएको हो । उनीहरूले आफूले तालिमबाट पत्रकारितासम्बन्धीका आधारभूत सीप तथा ज्ञान ग्रहण गरेको र त्यसलाई सम्बन्धित क्षेत्रमै खर्चिने बचनवद्धत गरेका छन् । तालिममा सहभागी मणिकुमार राईले खुसी व्यक्त गर्दै भने, ‘सम्भव भएसम्म हामीले यहाँ ग्रहण गरेका ज्ञानहरूलाई यही ठाउँमै उपयोग गर्नेछौँ, नभए पनि यहाँ आएर सिकिएका कुराहरूले जीवनमा धेरै अर्थ राख्छ ।’
कार्यक्रमलाई नेताहरूले विभिन्न तवरबाट सहयोग गरेका थिए । माओवादी केन्द्र, थुलुङ दुधकोशी गाउँपालिका ७ का वडाध्यक्ष हरिचन्द्र राई, माओवादी केन्द्र, सोलुदूधकुण्ड नगरपालिका सचिव रस्विन मगरलगायतका नेताहरूले कार्यक्रमलाई सहयोग गरेका थिए ।
प्रेस सेन्टर नेपाल, सोलुखुम्बुले विगतका दिनमा पनि खासगरी पत्रकारहरूको जनवीविकासँग जोडिएका विभिन्न सीप सिकाउनेगरी विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।

