त्रिदेशीय टी–२०ः नेपालको उत्कृष्ट सुरुवात


काठमाडौं – नेपालले त्रिदेशीय टी–२० श्रृङ्खलाको पहिलो खेलमा उत्कृष्ट सुरुवात गरेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ताजा स्थितमा १० ओभरमा १ विकेट गुमाउँदै ८६ रन बनाएको हो ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले विस्फोटक पारि खेलिरहेका बेला ११ बलमा २० रन बनाउँदा आउट भएका थिए । त्यसपछि ब्याटिङमा आएका रोहित पौडेल र आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै नेपालका लागि १० ओभरमा ८६ रन बनाएका हुन् । अहिले उनीहरूले ब्याटिङ गरिरहेका छन् ।

पीएनजीविरुद्ध एकदिवसीय श्रृङ्खला खेलेको नेपाली टिममा ५ खेलाडी परिवर्तन भएका छन् । एकदिवसीय खेलेका कप्तान सन्दीप लामिछानेसहित सोमपाल कामी, रोहित पौडेल आरिफ शेख दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल टी–२० टिममा पनि खेल्दैछन् ।

यसबाहेक आसिफ शेख, करण केसी, अविनाश बोहरा, कुशल मल्ल र लोकेश बम टी–२० मा पहिलो रोजाईमा खेल्दैछन् ।

पहिलो पटक टी(२० राष्ट्रिय टिममा समावेश भएका आदिल अन्सारी भने सोमबार नेपालको टिममा परेका छैनन् ।

एकदिवसीयमा शतक प्रहार गरेका रोहित पौडेल सोमबार बिहान मात्रै टी–२० श्रृङ्खलाका लागि टिममा समावेश भएका थिए । रोहितले सन् २०१९ पछि पहिलो पटक नेपालका लागि टी(२० खेल्दैछन् । उनले पछिल्लो पटक २०१९ डिसेम्बरमा १३औं दक्षिण एसियाली खेलकुदमा खेलेका थिए ।

प्रतिक्रिया