

कागज नभएर पत्रिका बन्द

काठमाडौं – श्रीलंका गम्भीर आर्थिक संकटमा परेको छ । श्रीलंकामा विदेशी मुद्रा सञ्चिति घटेर हालसम्मकै न्यून अवस्थामा पुगेकाले न्यूजप्रिन्टको अभाव देखिएको छ । विदेशबाट खरिद गर्नुपर्ने त्यस्तो कागज ल्याउन नसक्दा दुईवटा प्रमुख पत्रिकाले आफ्नो प्रकाशन रोकेका छन् ।
अंग्रेजी दैनिक द आइल्याण्ड र यसको सिस्टर पब्लिकेसन सिंहली पेपर दिवायनाले आफ्नो प्रकाशन स्थगन गरेका हुन् । सरकारले श्रीलंकाली रुपैयाँको अवमूल्यन गरेपछि न्यूजप्रिन्टको आयात लागत ह्वात्तै बढेको छ ।
कोरोना महामारीले श्रीलंकाको पर्यटन र रेमिट्यान्सबाट प्राप्त हुने आम्दानीमा चर्को असर पारेपछि त्यहाँ आर्थिक र वित्तीय संकट शुरु भएको हो । यसअघिआर्थिक संकटकै कारण कागज खरिद गर्न नसकेपछि विद्यालयको परीक्षासमेत रद्ध गर्नु परेको थियो । सन् १९४८ मा स्वतन्त्र भएपछिकै सबैभन्दा खराब वित्तीय संकटबाट श्रीलंका गुज्रिरहेको छ । वस्तु आयात गर्न डलरको अभाव छ ।
विदेशी मुद्रा अभावका कारण श्रीलंकाको ऊर्जा क्षेत्रसमेत गम्भीर रुपमा प्रभावित भएको छ । श्रीलंकावासीले लामो समयसम्म लोडसेडिङ व्यहोर्दै आएका छन् । औषधि, दूध, चिनी, दाल, चामल, तेल र अन्य खाद्य वस्तु खरिदका लागि पसलहरुमा मानिसहरुको लामो लाइन देखिन्छ । इन्धन किन्नेहरुको पनि पेट्रोल पम्पहरुमा लामो लाइन देखिन्छ ।
यसै वर्ष श्रीलंकामाथि करिब ७ अर्ब डलर ऋण तिर्नुपर्ने जिम्मेदारी छ । तर फेब्रुअरी महिनाको अन्त्यसम्म विदेशी मुद्रा भण्डार केबल २.३ अर्ब डलर रहेको समाचार सार्वजनिक भएको थियो । आवश्यक वस्तु खरिदका लागि श्रीलंकासँग विदेशी मुद्रा अभाव रहेको यही तथ्यांकले पनि देखाउँछ । रुस–युक्रेन युद्धका कारण विश्व बजारमा बढेको महँगीले पनि श्रीलंका थप समस्यामा परेको छ ।

