निर्वाचनमा गठबन्धन आवश्यक छ : सञ्चारमन्त्री कार्की
विराटनगर – सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी निर्वाचनसम्म सरकारमा सहभागी दलको गठनबन्धन आवश्यक रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले ‘गठबन्धन जुन उद्देश्य र परिस्थितिबाट निर्माण गरिएको हो त्यो अहिले पनि कायम राख्नुपर्ने आवश्यकता छ’ भने ।
मन्त्री कार्कीले गठबन्धन मुलुकको राजनीतिक स्थिरता, आन्तरिक एकता, सुशासन र कानुन शासनको प्रत्याभूति दिनका लागि तथा जनताको विकासको अभिलाशालाई परिपूर्ति गर्न निर्माण गरिएको बताए । ‘वर्तमान गठबन्धनले तीनै तहको निर्वाचन सम्पन्न गर्छ’ भन्दै उनले औचित्य र आवश्यकताका आधारमा निर्वाचनमा तालमेल हुने बताए ।
कांग्रेस कार्यसमितिको बैठक प्रारम्भ भएकाले यसले स्थानीय निर्वाचनका सम्बन्धमा छलफल भएर मुलुकलाई एकताबद्ध ढङ्गले आगाडि बढाउने सन्देश प्रभाव गर्ने मन्त्री कार्कीले जानकारी दिए ।
कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले नेताहरूले आफ्ना विचार राख्न स्वतन्त्र रहेको बताउँदै मन्त्री कार्कीले केन्द्रीय समितिले गर्ने निर्णयलाई सबैले मान्ने पराम्परा विसं २००७ देखि चलिआएको स्मरण गरे ।