
युक्रेनमा रिपोर्टङ गरिरहेकी रुसी पत्रकार जाे रुसकै हमलामा मारिइन्
किभ – रुसी फोजले युक्रेनको राजधानी किभमा गरेको बमबारीमा परेर एक रुसी महिला पत्रकारको ज्यान गएको छ । ओक्साना बाउलिनाले किभ र पश्चिमी सहर लभिभबाट अनुसन्धानात्मक वेबसाइट ‘दि इन्साइडर’का लागि रिपोर्टिङ गरिरहेकी थिइन् । सहरको पोडिल जिल्लामा भएका भौतिक क्षतिबारे फिल्म खिँच्दै गर्दा उनको मृत्यु भएको हो ।
बाउलिनाले विगतमा रुसी विपक्षी राजनीतिक व्यक्तित्व एलेक्सेई नाभाल्नीको भ्रष्टाचारविरुद्धको प्रतिष्ठानमा काम गर्ने गरेकी थिइन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकी विरोधी नाभाल्नीको प्रतिष्ठानमा काम गरेकै कारण उनले रुस छाडेकी थिइन् ।
रुसी सरकारले हालै मात्र जालसाजी र अदालतको अपमान गरेको आरोप नाभाल्नीलाई थप कैद सजाय सुनाएको थियो । गत वर्ष सरकारले उनको प्रतिष्ठानलाई अवैध घोषित गरी प्रतिबन्ध लगाएपछि त्यसमा कार्यरत अधिकांश कर्मचारी भागेर विदेश पुगेका थिए ।
बिहीबार भएको रुसी बमबारीमा बाउलिनासहित अर्का एकजनाको मृत्यु हुनाका साथै दुईजना घाइते भएका छन् । दि इन्साइडरले उनको परिवार र मित्रजनसमक्ष उनको मृत्युप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
एक महिना लामो युद्धको दौरान मारिने कम्तीमा सातजना पत्रकारमध्ये बाउलिना पनि एक हुन् ।



कागजपत्र |
