चोभारमा टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु


काठमाडौं – चोभारमा टाटा सुमो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। हेटौंडा-काठमाडौं चल्ने ना १ ज ६३५४ नम्बरको टाटा सुमोले बा ९२ प २३१ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए ।

मोटरसाइकलमा सवार दुई जनालाई प्रहरीले उपचारका लागि उनीहरूलाई बल्खुस्थित बयोधा अस्पतालमा लगिएको थियो। त्यहाँ पुर्‍याउँदा उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक मैनालीले बताए।

मृत्यु हुनेमध्ये एक जना नागार्जुन नगरपालिका बस्ने समीर गिरी छन्। अर्का एक जनाको पहिचान खुलिसकेको छैन। ठक्कर दिएपछि मोटरसाइकल भीरबाट खसेको मैनालीले बताए। भीरमा खसेको मोटरसाइकल प्रहरीले निकालिसकेको छ।

‘मोटरसाइकल भीरमा अन्दााजी १५ देखि २५ मिटर तल खसेको हो। अहिले निकालिसकेका छौं,’ मैनालीले भने। प्रहरीले टाटा सुमो चालक सिमरा उपमहानगरपालिका–६ का सन्जय खानलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया