पन्थ फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित


गोरखा – जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी नायव निरीक्षक मिलन पन्थलाई फाल्गुन महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)  घोषणा गरिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला भित्रमा कार्यरत प्रहरी कर्मचारी मध्ये उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्दै  याे महिनामा उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीको रुपमा प्रहरी नायव निरीक्षक पन्थलाई पुरस्कृत गरेको हाे ।

उनले यस कार्यालयको अपराध अनुसन्धान तथा कारवाही शाखा तर्फको SOCO अधिकृतको जिम्मेवारी तोकिएकोमा यस कार्यालयको वडा एरिया अन्तर्गतमा घटेका विभिन्न प्रकृतिका अपराधहरुमा तदारुकताका साथ खटिई गई घटनाहरुको सुक्ष्म रुपमा अनुसन्धान गरी सबुत प्रमाणहरु संकलन गर्ने, सबुत प्रमाणहरु परीक्षणको लागि पठाउने, अपराध अनुसन्धानलाई प्रमाणमुखी बनाउनको लागि अहम भूमिका निर्वाह गर्नुका साथै मिति २०७८।११।२१ गते बिहान अं. ०५:३० बजेको समयमा, जिल्ला गोरखा, गोरखा न.पा. वडा नं. १२ छापगाउँ स्थितमा ऐ. ऐ. बस्ने बर्ष ४६ को काशीराम कुमाल निजकै घर नजिक रहेको परालको टौवा नजिक मृत अवस्थामा फेला परेको ज्यान सम्बन्धी घटनामा तत्काल खटिई गई घटनाको सुक्ष्म रुपमा अनुसन्धान गरी निज काशीरराम कुमाललाई कर्तव्य गरी मार्ने निजकै काका रत्ने, सानो चाउरे भन्ने पदम बहादुर कुमाललाई पक्राउ गर्न सफल भएको र मिति २०७८।११।२४ गते बेलुका अं.१९:३० बजेको समयमा जिल्ला गोरखा, गो.न.पा. वडा नं.९ लक्ष्मीबजार स्थित राजाराम कुँवरको कुखुरा फर्ममा ऐ. ऐ. ठिंगुरेस्वाँरा बस्ने शिवराम सिं बस्नेत मार्फत कुखुरा बेच्ने क्रममा जिल्ला पर्सा, पर्सागढी न.पा. वडा नं.२ बस्ने बर्ष ३७ को नरेश ओझैया र ऐ. ऐ. बस्ने बर्ष ४१ को देवेन्द्र खवासले डिजिटल तराजुमा रिमोट मार्फत सेटिङ गरेर कुखुराको तौलमा ठगी गरेको घटनामा उक्त डिजिटल तराजु र रिमोट सहित निजहरु नरेश ओझैया र देवेन्द्र खवासलाई तत्काल पक्राउ गर्न सफल भएको साथै निजलाई तोकिएको जिम्मेवारी ईमान्दारी, वफादारीका साथ त्रुटी रहित तवरले विभागीय नीति निर्देशन अनुरुप कुशलता पूर्वक कार्य सम्पादन गरेका छन् ।

नागरीक समक्ष प्रहरीको छवि उच्च बनाउनुको साथै सर्वसाधारणहरुमा सुरक्षाको प्रत्याभुति गर्ने तर्फ प्रशंसनिय कार्य गरेकोले उनले गरेको उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै एक कार्यक्रमका बीच कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक केदार खनालले प्रोत्साहन स्वरुप अभिलेखमा जनिने गरी नगद एक हजार रुपियाँ पुरस्कारसहित २०७८ साल  ‘फाल्गुन’ महिनाको उत्कृष्ट प्रहरी (Best Police Of The Month) घोषणा गरेका हुन् ।

प्रतिक्रिया