यस वर्षको महामूर्ख डा. भोगेन्द्र झा


काठमाडाैँ – यसवर्षको महामूर्खको उपाधि मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झाले पाएका छन्।  होली पर्वको अवसरमा जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद (मिनाप) ले शुक्रबार महामुर्ख सम्मेलन गरेको थियो। मिनापले प्रत्येक वर्ष होलीको अवसरमा महामूर्ख सम्मेलन गर्दै आएको छ।

शुक्रबार जानकी मन्दिरमा आयोजित महामूर्ख सम्मेलनमा डा.झालाई उपाधि प्रदान गरिएको छ। त्यसैगरी प्रदेश सभा सदस्य मञ्जु यादवलाई अदल बदली, नेपाली कांग्रेसका नगर उपसभापति राकेश बिक्रम साहलाई टिटही, मिथिला चित्रकार मनिषा साहलाई गन्हकी, मिथिला वाइल्डलाईफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशंख, नेपाल पत्रकार महासंघ धनुषा शाखाकी अध्यक्ष मनिका झालाई दिलतोरियाको उपाधि दिइएको छ।

यस्तै अधिवक्ता सुदीप कोइरालालाई गोबर गणेश, गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शंख, वरिष्ठ कलाकार रामरेखा पण्डितलाई बज्रकिट, जनकपुरधाममा मिथिला चित्रकला शुरुवात गरेकी मिथिलेश्वरी कर्णलाई लालबुझकड, व्यवसायी अभिशेष चौधरीलाई बोतलानन्द र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई बैशाखनन्दनको उपाधि प्रदान गरिएको छ।

उपाधि मधेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, उद्योग पर्यटन तथा वनमन्त्री सत्रुधन महतो, मिनापका अध्यक्ष परमेश झा लगायतले प्रदान गरेका थिए। होली पर्वको अवसरमा प्रत्येक वर्ष मिनापले भाषा, संस्कृति, कला, सामाजिक रुपान्तरण, राजनीति जस्ता क्षेत्रमा योगदान पुर्याएका श्रष्टाहरुलाई व्यंग्यात्मक शैलीमा महामूर्खसहित मूर्खको उपाधि दिएर सम्मान गर्दै आएको छ।

बुद्धिजिवी मध्येका एक जना विशिष्ट व्यक्तिलाई महामूर्ख र अन्य बुद्धिजिवी प्रतिष्ठित व्यक्तिहरुलाई विभिन्न उपनाम दिदै मुर्खको उपाधी प्रदान गर्ने गरिएको छ।

प्रतिक्रिया